समाचार

पुनर्निर्माणमा साथ दिन अमेरिकी सैनिक दोलखामा

काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनेको दोलखाको पुनर्निर्माणमा अमेरिकी सेनाले साथ दिने भएको छ ।  पीडितको पीडामा साथ दिने उद्देश्यले अमेरिकी सेनाको एक टोली दोलखा पुगिसकेको छ भने अन्य टोली आउने क्रम जारी रहेको छ ।  तीन दर्जन बढी अमेरिकी सेना पुनर्निमाणमा जुट्ने छन् ।

२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि तहसनहस बनेको दोलखामा उद्धारमा खटिएको हेलिकोप्टर दुर्घटनामा गुमेका आफ्ना सहकर्मीहरुको स्मरणमा उनीहरु सामाजिक कार्यमा जुट्न नेपाल आएका हुन् । उनीहरु १७ दिन दोलखामा पुनर्निर्माणका लागि खटिनेछन् ।
पर्यटक बस हुँदै सिभिल ड्रेसमा अमेरिकी सेनाको पहिलो टोली दोलखा पुगेको हो । सो सैनिक टोलीले जिल्लाकै सुन्दरावती गाविसमा १७ दिने बिताउने जनाइएको छ । उनीहरुले सुन्द्रावती गाविस र त्यस वरिपरिका विद्यालय निर्माणमा सहयोग गर्नेछन् ।

एक वर्षअघि दोलखाका भूकम्प पीडितहरुको उद्धारमा खटिएको अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटनामा परेर आधा दर्जन अमेरिकी सैनिकसहित १३ जनाको मृत्यु भएको थियो ।

सिन्धुपाल्चोक र दोलखाको सीमानामा भएको सो दुर्घटनामा गुमेका सैनिकहरुको स्मरण गर्दै अमेरिकास्थित पेन्सीलभेनियाबाट उक्त टोली दुई दिनअघि काठमाडौ आएको थियो ।

प्रमुख सेनानीको नेतृत्वमा आएको सो टोलीका ३५ जना दोलखा पुगेपनि सोमबार १३ जनामात्रै सिधै सुन्दरावती गएको बताइएको छ । सुन्दरावती गाविस र त्यसको वरिपरि विद्यालय भवन निर्माण गर्नेदेखि विभिन्न कार्यक्रमका साथ उनीहरुले असार ३ गते सम्म बिताउनेछन् ।

गतसाल वैशाख २९ गते गएको शक्तिशाली पराकम्पनको केन्द्रविन्दु सुन्द्रावती गाविस आसपासमै परेको थियो । सोही भूकम्पमा परेकाहरुको उद्धार गर्न खटिएको अमेरिकी सैनिकको हेलिकोप्टरले अन्तिम उडान नजिकैको सिंगटी बजारबाट भरेको थियो ।