समाचार

मनिषा हत्या प्रकरणः कारबाहीको माग राख्दै प्रदर्शन

प्रेमीको पोलिग्राफ परीक्षण आज
काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरकी  १७ वर्षीया बहिनी मनिषा घर्तीमगरको हत्या प्रकरणलाई लिएर गृह जिल्ला नवलपरासीका बासिन्दा स्तव्ध बनेका छन् । उनको मृत्युको कारण पत्ता लगाई दोषीलाई कारबाहीको माग राख्दै स्थानीयले नवलपरासीमा प्रदर्शन गरेका छन् ।
घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै मनिषाका आफन्त, शुभचिन्तक र स्थानीयले आइतबार सदरमुकाम परासीमा प्रदर्शन गरे । आज पनि उनीहरुले प्रदर्शन जारी राखेका छन् ।

उनीहरुले दोषी पत्ता लगाई हदैसम्मको कारबाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् । मनिषाको शवको परीक्षण रिपोर्ट अझै लिखितरुपमा जिल्लामा नआएका हुँदा घटनाको प्रष्ट जानकारी हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको प्रकृतिले उनको हत्या भएको हुनसक्ने आकलन गरिए पनि वास्तविक दोषी पत्ता लागेको छैन । प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यसैबीच, मनिषाको हत्यामा भएको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को आज पोलिग्राफ परीक्षण गरिँदै छ ।

पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट आउने विज्ञ टोलीले प्रहरी नियन्त्रणमा रहेका आशिषको दिउँसो पोलिग्राफ परीक्षण गर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।

पोलिग्राफ परीक्षण प्रविधिअन्तर्गत पोलिग्राफ मेसिनले शरीरका अङ्गको प्रतिक्रियाका आधारमा झुटो बोलेको वा साँचो बोलेको पत्ता लगाउन मद्दत पुग्दछ ।

पोलिग्राफको रिपोट आउन एक दुई दिन लाग्छ प्रहरी उपरीक्षक चौधरीले भने “पोलिग्राफको रिपोट आएपछि अनुसन्धानमा थप सहयोग पुग्ने छ ।” प्रविधि प्रयोग गरी झुटो बोलेको वा साँचो बोलेको थाहा लगाउने पोलिग्राफ मेसिनबाट मनिषाको मृत्युबारे थप रहस्य खुल्ने अपेक्षा प्रहरीले गरेको छ । पोलिग्राफ ढाँटेको पत्ता लगाउन मेसिनका रुपमा प्रख्यात छ । प्रहरीले अभियुक्तलाई साँचो बोलाउन यसको प्रयोग गर्ने गरेको छ ।