समाचार

घरमै सुरक्षा छैन, कहाँ खोज्ने सुरक्षा ?

गोरखा । छोरीलाई बलात्कार गरेको आरोपमा गोरखामा एक जना पक्राउ परेका छन् ।  प्रहरीले गोरखा नगरपालिका–११ नौकिलोका ४४ वर्षीय चन्द्रबहादुर कुमाललाई छोरीलाई नै बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।

९ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको प्रहरीसमक्ष उजुरी आएपछि बाबु चन्द्रबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

पछिल्लो पटक सात÷आठ दिन पहिले चन्द्रबहादुरले छोरीलाई बलात्कार प्रयास गर्दा छोरी नमानेपछि कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ । बलात्कारका आरोपी चन्द्रबहादुरलाई आइतबार जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

चन्द्रबहादुरविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दा दर्ता गरेर कानुनअनुसार कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।