समाचार

गणतन्त्र दिवस भव्य रुपमा मनाइयो

काठमाडौं । आज जेठ १५ अर्थात गणतन्त्र दिवस । गण्तन्त्र दिवसका अवसरमा शनिबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । गण्तन्त्र दिवसका अवसरका काठमाडौंमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी छन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, कामु प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
समारोहमा नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै गणतन्त्र दिवस, २०७३ लेखिएको व्यानर प्रदर्शन गरेको थियो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपत्यकाका जिविस, नगरपालिका, खेलकुद परिषद्का खेलाडी, स्थानीयले मार्चपास, नृत्य, कवाज व्याण्ड, विविध सांस्कृतिक प्रस्तुति र झाँकी प्रदर्शन गरेका थिए । समारोहमा राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिबाट शान्तिका प्रतीक परेवा उडाइएको थियो ।

२०६२/६३ को जनान्दोलनको सफलतापछि गठित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरेकाले जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको हो ।