समाचार

सरकारको निर्णय कुर्दै यातायात व्यवसायी

काठमाडौं । ट्राफिकले जरिवाना शूल्क बढाएको विरोधमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले १७ गतेसम्मका लागि आन्दोलन नगर्ने भएका छन् । शुक्रबार यातायात व्यवस्था विभागका कर्मचारी र आन्दोलनरत यातायात व्यवासयीबीच भएको वार्ता सकारात्मक भएसँगै १७ गतेसम्म केही आन्दोलन नगर्ने निर्णय गरका हुन् ।
वार्तामा यातायात व्यवसायीका ६ बुँदे मागलाई यातायात व्यवस्था विभागले गृह मन्त्रालय र भौतिक तथा यातायात व्यवस्था मन्त्रालयमा नीतिगत निर्णयका लागि पठाउने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

स्वतन्त्र यातायात मजदुर संगठनका महासचिव हिम ज्वाला राईले जेठ १७ गतेभित्र यातायात व्यवसायी र मजदुरले राखेका माग पुरा गर्ने सहमति भएपछि १७ गतेसम्म कुनैपनि चक्काजाम जस्ता आन्दोलनका कडा कार्यक्रमहरु नल्याइने जानकारी दिए । दुर्घटना न्यूनिकरणका लागि सरकारले ट्राफिक जरिवाना वृद्धि गरेपछि यातायात व्यवसायीहरुले त्यसको विरोधमा केही विहीबार चक्काजाम गरेका थिए ।

१७ गतेसम्म आफूहरुका माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने उनीहरुले जनाएका छन् ।