समाचार

‘गृहको चेतावनीले चक्काजाम रोकिन्न’

काठमाडौं । यातायात मजदुर व्यवसायीले विहीबार चक्काजाम गर्ने भएका छन् । आफूहरुको मागलाई सरकारले व्यवास्ता गरेको भन्दै उनीहरुले आन्दोलनको कार्यक्रम नरोक्ने जनाएका हुन् । गृहले मंगलबार सार्वजनिक सवारी बन्द गरे कारवाही गर्ने चेतावनीसहित विज्ञप्ति निकालेको भए पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न याताव्यवसायी संघ र मजदुर संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै चक्काजाम जारी नै रहने जानकारी दिएका छन् ।

जसअनुसार विहीबार भाडाका सार्वजनिक सवारी साधनलाई पूर्ण रुपमा बन्द हुनेछन् । निजी सवारी साधनको आवागमनमा भने कुनै अवरोध नहुने जनाइएको छ ।  चक्काजाम बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

ट्राफिक प्रहरीले नियम नमान्नेविरुद्ध जेठ १ गतेदेखि न्युनतम् ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना लगाउन सक्ने नियम लागू गरेसँगै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । जरिवाना बढेपछि त्यसको बिरोधमा चक्काजामको घोषणा गरिएको हो ।