समाचार

सगरमाथा आरोहणका क्रममा एक पर्यटकको मृत्यु

काठमाडौं । सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । सगरमाथाको आरोणमा गएका टोलीमध्ये केही सम्पर्कविहीन भएको जनाइएको छ ।  भारतीय नागरिक सुवास पलको आइतबार राति मृत्यु भएको पर्यटन विभागले जानकारी दिएको हो ।

सगरमाथाको अन्तिम बिन्दुनजिक तीन नेपाली र तीन भारतीय गरी छजना आरोही सम्पर्कविहीन भएका थिए । तीमध्ये भारतीय महिला सुनिता हजारा क्याम्प तीनबाट सम्पर्कमा आएको र उनलाई उद्धार गरी क्याम्प दुईमा ल्याउने प्रयास भइरहेको विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले जनाए ।
भारतीय नागरिक परेशचन्द्र नाथ, गौतम घोस भने अझै सम्पर्कविहीन छन् । अन्य तीन नेपालीको अवस्थाबारे पनि केही जानकारी आएको छैन । घटनास्थलमा उद्धारका लागि तालिम प्राप्त शेर्पासहित हेलिकप्टर परिचालन गरिएको छ ।

आज पनि धेरै आरोही सगरमाथाको चुुचुरोमा पुग्ने र मङ्गलबारबाट सम्भवतः सगरमाथा आरोहण सकिने महानिर्देशक ढकाल बताए ।