समाचार

आन्दोलन चर्काउने दाउमा मोर्चा

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन चर्काउने छनक देखाएको छ । अहिलेकै अवस्थामा सरकारसँग वार्ता गर्नुको कुनै औचित्य नदेखेपछि  काठमाडौं केन्द्रित आन्दोलन थाल्ने तयारीमा मोर्चा जुटेको छ ।

सरकारलाई पत्र पठाउँदै मोर्चा आवद्ध ७ वटा दलले सरकारले नै वार्ताको वातावरण बनाउन नसकेको भन्दै सीमांकनका लागि गठित राजनैतिक संयन्त्रको कार्य–उद्देश्य र क्षेत्राधिकारकोे टुंगो लगाउने, तथा मोर्चाका नेतामाथि अनावश्यक मुद्दा लगाउने काम बन्द गर्नुपर्ने र वार्ताको वातावरण बनाउनुपर्ने माग गरेको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा प्रस्तुत ११ बुँदे प्रस्तावका सम्बन्धमा सरकारबाट अझै कुनै धारणा नआएको भन्दै मोर्चाले सरकारले वार्ताको कुरा गरेर नागरिकलाई भ्रममा राख्न खोजेको तर आफैले वार्ताद्वारा समस्या समाधान गर्न नचाहेको स्पष्ट पारेको छ ।