समाचार

एसएलसी शुरु, पहिलो दिनको परीक्षा शान्तिपूर्वक

काठमाडौं । यस वर्षको एसएलसी परीक्षा बिहीबारबाट शुरु भएको छ । पहिलो दिन परीक्षार्थीले अंग्रेजी विषयको परीक्षा दिएका छन् । पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्वकरुपमा सम्पन्न भएको छ ।  गएको वर्ष चैत ५ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष भने तराई आन्दोलनका कारण १३ दिन ढिलो सुरु भएको हो ।

भूकम्प र तराई आन्दोलनका कारण यसवर्ष परीक्षार्थी नियमति कक्षाबिनै एसएलसएमा सहभागी भएका छन् । परीक्षामा ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी छन् । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी रहेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ जना परीक्षार्थी सहभागी छन् ।

सबैभन्दा बढी काठमाडौंमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिँदैछन् । परीक्षाका लागि देशभर एक हजार चार सय ४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन विद्यार्थी, अभिभावक, शिक्षक र राजनीतिक दलका प्रतिनिधि एवम् सबै सरोकारवालालाई आग्रह गरेका छन् ।

कार्यालयले यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरूको परिचयपत्र वितरण गर्ने भएको छ । एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अङ्ग्रेजी हिज्जे र परीक्षा दिएको विषय गल्ती कम गर्न परीक्षार्थीलाई परीक्षा सकिएको दिन परिचयपत्र वितरण गर्ने भएको हो ।

यसरी परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेश पत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले गल्ती भएको विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन सक्नेछन् ।

यस वर्षको एसएलसी परीक्षाको नतिजा ‘लेटर ग्रेडिङ’मा सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगतका वर्षमा जस्तै हुने परीक्षा नियन्त्रक काप्रीले जानकारी दिए ।