समाचार

५ दिनका लागि आएका ह्यारी ११ दिनपछि फर्किदै

काठमाडौं । बेलायती राजकुमार ह्यारी ११ दिने नेपाल बसाइ सकेर बुधबार बेलुका स्वदेश फर्किने भएका छन् । काठमाडौंस्थित बेलायती दूतावास स्रोतका अनुसार ह्यारी बेलुका सवा नौ बजेको कतार एयरवेजको विमानबाट स्वदेश फर्किने भएका हुन् ।
 
ह्यारी मंगलबार अपराह्न गोरखाको लापु गाविसबाट काठमाडौं आएका थिए । उनी लैनचौरस्थित बेलायती दूतावासमै बसेका छन् ।
 
‘ह्यारी गोरखाबाट काठमाडौं आएको र आज स्वदेश फर्किने कार्यक्रमलाई दरबारले खासै प्रचार गर्न चाहेको छैन ।  ह्यारीलाई नेपाल सरकारले दिएको सुरक्षासमेत ह्यारीले गोरखा गएकै दिनदेखि नलिएको ती अधिकारीले बताए ।
 
बेलायती राजकुमार ह्यारी चैत ६ गते नेपालको औपचारिक भ्रमणमा आएका थिए । औपचारिक भ्रमण सकिएपछि पनि उनले आफू नेपालको सौन्दर्यबाट प्रभावित भएको र नेपाललाई अझै सहयोग गर्न चाहेको भन्दै बसाइ ६ दिन लम्ब्याएका थिए ।

नेपाल आएसँगै भेटघाट भन्दा बढी घुमफिरमा व्यस्त बनेका ह्यारीले सहयोगको आश्वासन दिएर आज स्वदेश फर्किन लागेका हुन् ।