समाचार

एमाले बैठकमा चीन–भारत भ्रमणकै समिक्षा

काठमाडौं ।  नेकपा एमाले स्थायी कमिटीको  आज बिहान बसेको बैठक प्रधानमन्त्रीको भारत र चीन भ्रमणकै समिक्षामा टुंगिएको छ ।
एमाले पार्टी विभागमा लामोसमयदेखि रिक्त सदस्यहरुको पूर्तिका लागि बसेको बैठकमा १८ विभागमा सदस्यहरुको जिम्मेवारी दिने विषयमा छलफल भए पनि पूर्णतया टुंगो लाग्न सकेन ।
प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बसेको बैठकमा सो कार्यसूचीमाथि मङ्गलबारको स्थायी कमिटीको निर्देशनबमोजिम केन्द्रीय सचिवालयले रातिसम्म लगाएर गरेको गृहकार्यसहितको प्रस्तावमा प्रस्तुत भए पनि निर्णय हुन सकेन ।

विभागका सदस्य चयन गर्दा सबै पक्षसँग परामर्श अपुग भएको भन्दै आलोचना भएपछि निर्णय हुन नसकेको हो । प्रधानमन्त्री ओली चितवनको कार्यक्रममा जानुपर्ने भएकाले बैठक लम्बिने भएपछि ओलीले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन भएको केन्द्रीय सचिवालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

बैठकमा चीन भ्रमणबारे प्रधानमन्त्रीले बैठकमा जानकारी गराएका थिए भने भ्रमण ऐतिहासिक भएको ठहर बैठकले गरेको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणमा दुई देशबीच यातायात तथा पारवहन सम्झौतालगायतका सम्झौता भएको र भ्रमण समग्रमा सफल रहेको बताएका थिए ।
प्रधानमन्त्री ओली यही चैत ७ देखि १४ सम्म छिमेकी चीनको औपचारिक भ्रमणमा गएका थिए ।  चीनले देखाएको सत्कार र सद्भावका लागि बैठकले आभार पनि व्यक्त गरेको छ ।

गत फागुन २३ र २४ गते सम्पन्न स्थायी कमिटीको ३४ औँ बैठकमा प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे समीक्षा भएको थियो । नवौँ महाधिवेशनयता मनोनयन हुन नसकेका ती पदमा यही चैतको अन्तिम साता हुने केन्द्रीय कमिटीको बैठकअगावै निर्णयमा पुग्ने तयारी भएको बुझिएको छ ।