समाचार

मोर्चाका माग पूरा भएको मन्त्रीको दाबी

जनकपुर । शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले संविधानको पहिलो संशोधनबाट मधेसी मोर्चाको अधिकांश माग पूरा भइसकेको र बाँकी माग छिट्टै पूरा हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै मधेसी मोर्चाको बाँकी माग उच्चस्तरीय राजनीतिक संयन्त्रले वार्तामार्फत समाधान गर्ने धारणा राखे ।

स्थानीय शान्ति समिति धनुषाले आयोजना गरेको कार्यक्रममा मन्त्री ढकालले सशस्त्र द्वन्द्वको क्रममा भएको गम्भीर प्रकृतिका घटनाको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट छानबिन गरी पीडितलाई न्याय र पीडकलाई कानुन बमोजिम कारबाही हुने बताए ।

उनले राजनीतिक आन्दोलनको नाममा आपराधिक गतिविधिमा लागेका भूमिगत सङ्गठनलाई वार्तामा आउन आग्रह गर्दै राजनीतिक समस्यालाई राजनीतिक तवरबाट सम्बोधन गराउन आग्रह गरे ।