समाचार

भारत प्रवेश गर्ने मोटरसाइकललाई २० रुपैयाँ शुल्क

नेपाली नम्बर प्लेटको मोटरसाइकललाई पहिले भारतीय सिमा नजिक प्रवेश गर्दा भारतीय सिमासुरक्षा बल (एसएसवि)ले समान्य चेकजाँच गरेर जान दिन्थ्यो। तर अहिले मोटरसाईकलमा लौकाहा जान चाहनेहरु यहाँका कस्टममा अस्थायी पास लिएर मात्र प्रवेश पाउँछन्। पास बापत कस्टमका अधिकारीले विश देखि तीस रुपैयाँ लिने गरेका छन्।

अस्थायी पास नलिएका मोटरसाईकल चालकलाई कस्टम अगाडि बसेका एसएसविका अधिकारीले अगाडि जाने अनुमति दिदैन् ।

दैनिक उपभोग्य वस्तु किनमेल र नातासम्बन्धी कहाँ जाने नेपाली नम्बर प्लेटका मोटरसाईकलमा मात्र यो नियम लागु हुन्छ। लौकाहा बजार प्रवेश गर्नुपूर्व नेपाली नम्बरका मोटरसाईकल सिमावारी ठाढी सिमामा रोकेर चालक सवारी धनी अनुमति पत्र(ब्लुबुक) सहित कस्टम कार्यालय पुग्छन् । जहाँ कस्टमका अधिकारी अस्थायी पासको ठेली लिएर वसेका हुन्छन् । चालक सवारी धनी पत्र ती कस्टम अधिकारीको टेबलमा राखेर आफु जान चाहेको भारतीय बजार बताउँछन् । लौकाहा बजार जानेका लागि भारतीय रुपैंया २० र यो भन्दा अगाडिको बजार खुटौना जानेलाई भारतीय रुपैंया ३० लिएर अस्थायी अनुमति पत्र काटिदिन्छ ।

यो पत्र देखाएपछि एसएसविले भारतीय सिमाभित्र मोटरसाईकल छिराउन दिन्छ । ठाढी भन्साका कार्यालय सहयोगी किसुन यादवले भने,'पहिला त भारतीय कस्टमकर्मीले अस्थायी अनुमति पत्र बापत भारु एक सय लिन्थे ।' बजारका व्यपारी र स्थानीयको पहलमा यो दर घटाएर २० र ३० रुपैंया कायम गरेको यादवले बताए ।

पत्रमा भारतीय कस्टमले मोटरसाईकल नम्बर र मोटरसाईकलको ब्राण्ड उल्लेख गर्छन् । मोटरसाईकल चालकबाट लिने रुपैंया उल्लेख गर्दैनन् । न त यो रकम लिए वापत रसिद नै उपलब्ध गराउँछन् ।

शुक्रवार लौकाहा जान लागेका राजकुमार राउतले कस्टम अधिकारीसंग रकम लिएको रसिद माग्दा अधिकारीले भने,'ये पर्ची फोकटमे मिलता है क्या (यो पत्र सितैमा पाईन्छ) ?' कष्टमका अधिकारीले शूल्क नियम संगत नै लिने गरेको दाबी गरेका छन् ।

ठाढी प्रहरी चौकीका सई यादव खड्काका अनुसार भारतीय कस्टम अधिकारीले पहिला एक सय भारु सम्म लिने गरेको बताए । यहाँका व्यपारी र नागरिक समाजले भनेपछि घटाएको छ, उनले भने ।

बिना रोकटोक सीमावर्ती सहरहरुमा सहज रुपमा आउजाउ गर्दै आएका नेपाली सवारी साधनहरु कस्टमको शुल्क सहित पासको प्रावधानले हैरान बनेका छन् ।

बिहार पटनाको सीमा शुल्क विभागले गत डिसेम्बर २९ तारिखमा पब्लिक नोटिस जारी गरेको जनाइएको छ । जस अनुसार जनवरीको अन्तिम साताबाट यो नाकामा पनि यो नियम लागु गरिएको स्थानीयहरु बताउँछन् ।

नेपाली नम्बर प्लेटका मोटरसाइकल लगायतका सवारी साधन सीमावर्ती भारतीय शहरमा एक दिनका लागि प्रवेश गर्दा पनि अनिवार्य रुपमा कस्टमबाट प्रवेश अनुमति पत्र अर्थात अस्थायी पास लिनु पर्छ।

कस्टमबाट अस्थायी पास लिएका नेपाली सवारीसाधन तीन किलोमिटर भित्र सम्मको भारतीय भूमीमा मात्र आउजाउ गर्न पाउने छन्। अस्थायी पास कस्टमको चेक प्वाइन्टबाट निशुल्क उपलब्ध गराइने सीमा शुल्क विभागको नोटिस छ।

सुरक्षाको दृष्टिकोण र सीमा आवागमनलाई व्यस्थित पार्नका लागि अस्थायी पासको नियम लागु गरिएको सिमाका सुरक्षा अधिकारीहरु बताउँछन्। खासगरि सीमा आसपास हुने अपराधिक गतिविधी र तस्करीलाई नियन्त्रण गर्न यो नियम लागु गरिएको उनीहरुको भनाई छ।

यो नियमले दैनिक उपभोग्य बस्तु किनमेल र आफन्त भेटघाटका लागि सीमावर्ती भारतीय सहर र गाउँमा जाने नेपालीहरुलाई समस्या भईरहेको ठाढीका स्थानीयहरुको गुनासो छ।