समाचार

मन्त्री गजुरेल भन्छन्ः फिल्ममा गाई मरेपछि भावुक बनें, जिम्मेवारीवोधले रोएँ

फिल्म हेरेर फर्किँदा भावुक बनेर रोएका कृषिमन्त्री हरिबोल गजुरेलका विषयमा अनेक खालका प्रतिक्रिया आइरहेका छन् । कतिले मन्त्रीको भावुकतालाई देशको अवस्थाप्रतिको चिन्ताका रुपमा लिएका छन् त कतिले मन्त्रीले रोएर नाटक गरेको भनेरसमेत टिप्पणी गरेका छन् ।

मन्त्री गजुरेल स्वयम् भने फिल्मको विषयवस्तु र आफ्नो जिम्मेवारीलाई जोडेर हेर्दा भावुक बनेको बताउँछन् । उनले आफू रुनुका कारणबारे अनलाइनखबरलाई यसरी सविस्तार व्याख्या गरे:

राहदानी फिल्मले कृषिसँग सम्वन्धित विषयलाई उठाएको छ भन्ने थाहा थियो । सो फिल्मका साथीहरु भूकम्पपीडितको सहायताका लागि एउटा च्यारिटी शो आयोजना गर्नुभएको रहेछ र त्यसको उदघाटनका लागि मलाई बोलाउनु भो । मैले खुशीसाथ आमन्त्रण स्वीकारेँ ।

मैले आफ्नो जीबनमा निकै कम नेपाली फिल्म हेरेको छु । जमानामा आमा, मनको बाँध लगायतका फिल्म हेरेको हुँ । पछिल्लो कालखण्डमा माओवादी जनयुद्धसँग सम्वन्धित एउटा फिल्म हेरेको थिएँ । फिल्मको नाम के थियो कुन्नी । त्योभन्दा पछि पनि एउटा फिल्म हेरेको छु, त्यसको पनि नाम याद छैन ।

मैले हेरेका सीमित फिल्मको आधारमा मैले नेपाली फिल्म हिन्दी र अंग्रेजीभन्दा कमजोर हुने गरेको मूल्यांकन गर्दै आएको थिएँ । कथाबस्तु कमजोर र कलाकारको अभिनय पनि बनावटी जस्तो लाग्थ्यो । यद्यपि, राहदानी हेरेपछि नेपाली फिल्मको स्तरवृद्धि भएको महसुस भएको छ ।

म अहिले जुन पदमा छु, त्यस हिसाबले मलाई यो फिल्मको विषयवस्तुले निकै छोएको छ । कृषि क्षेत्रको विकास हुन नसक्दा विदेशिनुपरेका युवाहरुको पीडालाई फिल्मले बोकेको रहेछ । फिल्मको प्रस्तुति निकै यथार्थपरक थियो । सत्यसँग अत्यन्तै नजिक लाग्यो मलाई ।

फिल्ममा एउटा गरिब परिवारको गाई बिरामी हुन्छ । बिरामी भएपछि परिवारले भेटनरी डाक्टरलाई बोलाउँछन् । भेटनरी डाक्टर बर्दिबासमा हुन्छ । उसले भोलि मात्र आउँछु भन्छ । तर, भेटनरी डाक्टर नआइपुग्दै गाई मर्छ । बिरामी भनेपछि तुरुन्तै दौडादौड गरेर आउनुपर्छ कि पर्दैन एउटा भेटनरी डाक्टरले ? नेपालमा वास्तवमा अहिले यस्तै छ । यही पाराले गर्दा कयौं किसानका गाईवस्तु मरेका छन् ।

गाई मरेको दृष्यले मलाई निकै उद्देलित बनायो । त्यसमाथि त्यहि परिवारको छोरो वैदेशिक रोजगारीमा जान्छ र दुःख पाउँछ । बिभिन्न घटनाक्रमहरुमा आफूलाई सम्हाल्न निकै गाह्रो भइरहेको थियो । फिल्म सकिएर बाहिर निस्कँदा मैले एक खालको पीडा महसुस गरिरहेको थिएँ । यत्तिकैमा एकजना पत्रकारले फिल्मको विषयमा सोध्नुभयो । म बताउन थालें । बोल्दाबोल्दै मैले आफूलाई सम्हाल्नै सकिनँ । रुन पुगेछु । म रोएको आफ्नो जिम्मेवारीवोधले गर्दा हो ।