समाचार

महिला हिंसाका दोषीलाई मृत्युदण्डको माग

काठमाडौं, १९ चैत ।  महिला नेतृहरुले महिला हिंसाका दोषीलाई मृत्युदण्डसम्मको सजाय हुने गरी कानुन बनाउन सरकारसँग माग गरेका छन्।  सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभिन्न राजनीतिक दलका महिला संगठनहरुको संयुक्त संघर्ष समितिले महिला हिंसा अन्त्यका लागि विद्यमान ऐनलाई परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन्। 

उनीहरुले बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै दोषीलाई कठघरमा उभ्याउन सरकार उदासिन रहेको आरोप समेत लगाए।

अखिन नेपाल महिला संघ क्रन्तिकारीकी अध्यक्ष अमृता थापाले सरकारकै उदाशिनताका कारण दोषीहरुले उन्मुक्ति पाएको भन्दै दोषी उम्कने कानुन परिमार्जन गर्न माग गरिन्। विश्वका कतिपय देशमा माहिला हिंसाको दोषीलाई मृत्युदण्ड दिने कानुन रहेको भन्दै नेपालमा पनि त्यस्तै कानुन ल्याउनु पर्ने बताइन्।

नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले बालिका बलात्कृत हुने, बोक्सीको आरोपमा महिलामाथि गरिएको दुर्रव्यवहारका घटना लगायत महिला हिंसाका घटना दैनिकजसो आईरहदा पनि राज्य गम्भीर नभएको आरोप लगाइन्। उनले बलात्कार जस्तो जघन्य अपराधका अपराधीलाई मृत्युदण्डको व्यवस्था कानुनमा गर्नुपर्नेमा जोड दिइन्।

अन्तर पार्टी महिला सञ्जालकी उपाध्यक्ष पुष्पा ठाकुरले राजनितिक संरक्षणबाट महिला हिंसाका अपराधीले उन्मुक्ति पाउने गरेकाले पनि हिंसाका घटना नियन्त्रणमा आउन नसकेको भन्दै कडा कानुन बनाउन माग गरिन्।

महिला हिंसाका दोषीलाई कानुनी दायरमा ल्याई हिंसा अन्त्यका लागि सरकारले तत्काल प्रयास नगरे कडा संर्घषमा उत्रने उनीहरुले सामुहिक चेतावनी दिएका छन्।