समाचार

‘अाजकाे आवश्यकता : क्षयरोग मुक्त विश्वका लागि नेतृत्व’

२८ हजारभन्दा धेरै क्षयरोगीले उपचार पाएनन्
काठमाडौं, १० चैत ।  नेपालमा अझै २८ हजारभन्दा धेरै क्षयरोगीले उपचार नपाएको एक तथ्याङ्कले देखाएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा नयाँ र पुराना गरी ६० हजार क्षयरोगका बिरामी छन् जसमध्ये आर्थिक वर्ष २०७३/०७४ मा ३१ हजार ७ सय ६४ जनाले मात्रै उपचार गराइरहेका छन् ।
नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी थपिने र उनीहरुमध्ये १३ हजारजना उपचारको दायरामा नआउने गरेको केन्द्रले जनाएको छ । क्षयरोगीको संख्या यकिन गर्न क्षयरोगको प्रारम्भिक सर्वे भइरहेको छ । ५५ जिल्लाका ५७ हजार घरमा पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा गरिने सर्वेले क्षयरोगको वास्तविक अवस्था पत्ता लाग्ने केन्द्रका निर्देशक डा. जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो । 
यसैबिच ‘अाजकाे आवश्यकता : क्षयरोग मुक्त विश्वका लागि नेतृत्व’भन्ने नाराका साथ आज विश्व क्षयरोगविरुद्धको दिवस विश्वभरी नै मनाइदैछ । नेतृत्व राजनीतिक तहमा मात्रै नभएर सर्वसाधारणको स्तरमा पनि विकास हुन सकेमा क्षयरोगलाई जित्न सकिने भएकाले यो नारा तय गरिएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।
डब्लुएचओको आह्वानमा रहेक वर्ष मार्च २४ का दिन क्षयरोगका बारेमा जनचेतना फैलाउने र यस विरुद्ध एकजुट हुने उद्देश्यका साथ दिवस मनाइन्छ । सन् १८८२ मा डा. रोबर्ट कोचले टिबी लाग्ने ब्याक्टेरिया पत्ता लगाएको दिनको सम्झनामा दिवस मनाउन थालिएको हो ।
टिबी विरुद्धको अभियानमा महत्वपूर्ण सफलता पाएपनि विश्वमा हरेक दिन टिबीकै कारण अझैपनि ४ हजार पाँच सय भन्दा बढीको ज्यान जाने गरेको डब्लुएचओको तथ्याङक छ । टिबीका कारण सन् २०१६ मा विश्वमा १८ लाख मानिसको ज्यान गएको थियो भने एक करोड ४ लाख नयाँ बिरामी भेटिएका थिए ।