समाचार

एसईई परीक्षा, पहिलो दिनको परीक्षा मर्यादित

काठमाडौं, ८ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई आजबाट शुरु भएको छ । देशभरका परीक्षा केन्द्रमा एकैसाथ विहान ८ बजेटबाट परीक्षा शुरु भएको हो । विद्यार्थीहरुले पहिलो दिन अंग्रेजी विषयका परीक्षा दिएका छन् । छिटपुट घटना बाहेक पहिलो दिनको परीक्षा मर्यादित रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 
परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९ सय ५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४ सय ५० सहायक केन्द्रााध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी ६४ हजार ७ सय ६२ जनशक्ति खटिएका छन् ।  साधारण धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । 
यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन भएको छ । जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । अनुत्तीर्ण परीक्षार्थी र अक्षरांकन पद्धतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ । अनुगमन टोलीलाई परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगतरूपमै कारबाही गर्न सक्ने अधिकार दिइएको छ ।