समाचार

विमान दुर्घटनाः ४९ जनाको मृत्यु, २२ जनाको उपचार हुँदै, छानविन अायाेग गठन

काठमाडाैं, २९ फागुन । त्रिभुवन विमानस्थलमा भएको बंगलादेशको युएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । दुर्घटनामा घाइते भएका २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  विमानमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए । ती मध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको त्रिभुवन अन्तर्राष्ट्रियस्थल नागरिक उड्डयन कार्यालयले पत्रकार सम्मेलन गरी जनाएको छ । 

घाइते को कहाँ ? 
काठमाडौँ मेडिकल कलेज सिनामंगलमा प्रिन्स धानी र सविना व्यन्जनकार, बंगलादेशी इमरान कविर, कविर हुसेन, रसिद हसन, निहेवी हसन, रजीन अब्दुल, डा इरजन, एसएचडब्लु ओरएन र सरीन अमितको उपचार भइरहेको छ । त्यस्तै ग्रान्डी अस्पतालमा नेपाली किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारको तथा न्यूरो अस्पतालमा दिनेश हुनमागाईंको उपचार भइरहेको छ । त्यसैगरी मेडिसिटी अस्पतालमा केशव पाण्डे तथा नर्भिक अस्पतालमा विनोद पौडेल, वसन्त बोहरा, आशिष रञ्जित, सोनम शाक्यको उपचार भइरहेको छ । ओम अस्पतालमा भने बंगलादेशी राजवान हक्रुको उपचार भइरहेको छ । 

छानविन गर्न आयोग गठन
सरकारले त्रिभुवन विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटनाको यथार्थ छानविन गर्न जाँचबुझ आयोग गठन गरेको छ । सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसचिव यज्ञप्रसद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । 
समितिमा प्रमुख सेनानी डाक्टर राजिव देव, क्याप्टेन के.के. शर्मा, सोनिम प्रधान र उद्धव प्रसाद सुवेदी सदस्य रहेका छन् । सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहनुभएको छ । आयोगलाई  यथाशीघ्र प्रतिवेदन बुझाउन भनिएको छ । बैठकले उक्त घटना प्रति दुख व्यक्त गर्दै उद्धारमा खटिने सबै प्रति आभार व्यक्त गरेको वातावरणमन्त्री लालबाबु पण्डितले जनाकारी दिनुभयो । बैठकले प्रदेशका मुख्य न्यायाधिवक्ताको सपथ सम्बन्धि अन्यौललाई अन्त्य गर्दै महान्यायाधिवक्ताको ढाँचा जस्तै प्रदेश उच्च अदालतका मुख्य न्यायाधिशको उपस्थितिमा सपथ गराउने निर्णय गरेको छ ।