समाचार

आज महाशिवरात्री, शिवालयमा भक्तजनको भीड

काठमाडौं, १ फागुन । हिन्दू धर्मावलम्बीहरुको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथ सहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइदैछ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ ।

कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रीलाई पुराणमा वर्णन गरिएको छ । आजको दिन भक्तजनहरुले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष भारत लगायतका देशहरुबाट सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् । त्यस्तै, केदारनाथको शिरको रुपमा पुजिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ ।

दर्शनार्थीले लाईन लागेको एकदेखि डेढ घण्टामा पशुपति नाथको दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । त्यस्तै, यसपटक देखि पैसा तिरेर लाइन नबसि विशेष पुजा गर्ने व्यवस्था समेत हटाइएको छ । महादेवको दर्शनका लागि आज विहान ४ बजेदेखि पुशपतिनाथका चारवटै ढोका खोलिएका छन् ।  बत्तीसपुतली–गौशाला र कोटेश्वर एयरपोर्ट तर्फबाट आउने दर्शनार्थीका लागि पिङ्गलास्थान–चार शिवालय–पन्चदेवल हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइको छ ।

गुहेश्वरीतिरबाट आउने दर्शनार्थीका लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–बासुकीनाथ हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेशको व्यवस्था गरिएको छ । त्यस्तै चावहिल तर्फबाट आउने दर्शनार्थीका लागि सिफल–जयवागेश्वरी–मित्रपार्क, जयवागेश्वरी हुंदै भुवनेश्वरीस्थित फलामको ढोकाबाट प्रवेश गरी पश्चिम ढोकासँगै प्रहरी प्रहरा गणबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

यसैबीच, नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसको उपललक्ष्यमा आजै सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना  गर्ने भएको छ । समारोहमा राष्ट्रपति बिद्यादेवी भण्डारी, मन्त्रीहरु उपस्थित हुनेछन् । कार्यक्रममा नेपाली सेनाको विभिन्न टोलीद्वारा मार्चपास, हातहतियार, तोपखानालगायत विकास निर्माणसम्बन्धी गतिविधिबारे कलाकौशल प्रदर्शन गरिनेछ । विसं. २०४७ देखि नेपाली सेनाले महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ ।