समाचार

नेपालको क्यासिनोमा अवैध विदेशी कामदार

काठमाडाैं, २८ माघ । नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारे ‘टाइगर प्यालेस रिसोर्ट’ को उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिविनै काम गरिरहेको भेटिएको छ। 
सम्बद्ध स्रोतका अनुसार निःशुल्क भिसामा नेपाल आएका उनीहरु विगत ६ महिनादेखि रुपन्देही तिलोत्तमा नगरपालिका–१७ कोटिहवामा पाँचतारे स्तरको रिसोर्ट टाइगर प्यालेसको क्यासिनोमा प्रबन्धकदेखि महाप्रवन्धकसम्मका तहमा कार्यरत छन्।
नेपालको कानुन अनुसार विदेशी नागरिकले नेपालमा श्रम स्वीकृती लिएर मात्रै काम गर्न पाउँछन्।
तर, ती पाँच विदेशी भने श्रम स्वीकृतिबिना नै कार्यरत रहेको स्रोतको जानकारी थियो। उनीहरुबारे केही दिनयता अध्यागमन विभागले जानकारी लिइरहेको छ।

टाइगर प्यालेस रिसोर्टसहित त्यसमा संचालित क्यासिनोमा अष्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिलभर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड रुपैंयाँ लगानी छ।
यसको नेपाली साझेदार कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्राली हो। यही ग्रुपले काठमाडौंमा क्यासिनो मिलेनायर्स क्लब पनि संचालन गरिरहेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।