समाचार

धुर्मुस–सुन्तलीको संघर्ष, सन्तपुर बस्ती बसालियो

रौतहट, २३ माघ । सामाजिक अभियन्ताको रुपमा काम गर्दै आएको धुर्मुस–सुन्तली फाउण्डेसनले पछिल्लो पटक निर्माण गरेको सन्तपुर एकीकृत नमूना मंगलबार स्थानीयलाई हस्तान्तरण गरिने भएको छ ।  कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि ४७ वटा घर निर्माण भएका छन् । मंगलबार एक कार्यक्रमबीच बस्ती हस्तान्तरण गरिने फाउन्डेसनले जनाएकाे छ । 
गत असोज ४ गते शिलान्यास गरिएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत निर्माण भएका छन् । गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । 
करिब रु पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैँ खटेर काम गर्दै आउनुभएको थियो । यो एकीकृत नमूना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार धुर्मसले बताउनुभयो । धुर्मुस–सुन्तली फाउण्डेशनको यो चौथो परियोजना हो । यसअघि, काभ्रेकाे पहरी बस्ती, सिन्धुपाल्चाेककाे गिरानचाैर र मुसहर बस्ती निर्माण गरी स्थानीयलार्इ हस्तान्तरण गरिसकिएकाे छ ।