समाचार

‘मष्तिष्क पक्षघात’ प्रिता सम्मान थाप्न चितवन पुग्दा....

बलराम प्यासी 
काठमाडौं, माघ ।  भक्तपुरकी २६ वर्षिया प्रिता बल्लको उमेर हिसाव गर्ने हो भने उनले यतिखेर स्नातकोत्तर तहसम्मको पढाई सक्नुपर्ने हो । तर उनी अन्य युवायुवतीजस्तो सामान्य छैनन् ।  जन्मदेखि नै मष्तिष्क विकास नहुने रोग ‘सेरेबल पाल्सी’ ले गर्दा शारिरीक अशक्तताका कारण उनले २०७३ सालमा मात्रै मुस्किलले माद्यमिक शिक्षा परीक्षा (एसईई) उतिर्ण गरीन । २५ वर्षको उमेरमा सो परीक्षा उतिर्ण गर्दा उनले पाएको अंक ‘सी प्लस’ ग्रेड थियो । 

८ कक्षासम्म आफ्ना बाबुले स्काउट अध्यापन गर्ने विद्यालय एभरेस्ट इंगलिस स्कुलमा अध्ययन गरेकी उनी पछि आफ्नो घर नजिकको शान्ति निकेतन माविमा भर्ना भइन । त्यहीबाट उनले एसईई उतिर्ण गरेकी थिइन । अहिले उनी शारदा माविमा मानविकी विषय लिएर ११ कक्षा अध्ययन गर्दैछिन् । 

जन्मेदेखि नै बढेकोे उमेरको अनुपातमा मष्तिष्कको विकास नभएका कारण उनले २६ वर्ष पुरा गरुन्जेल निकै संघर्ष गर्न परिराखेको छ । यताउति जानु परेमा ह्विलचियरको सहायता लिनुपर्छ । त्यतिमात्रै हैन, उनीसंग हरवखत एकजना साथी हुनैपर्छ । उनले बोलेको कुरा उनका घरका सदस्य बाहेक अरुले बुझ्दैनन् । 

प्रिताका बुबा पवनकुमार बल्ल र ममी रामेश्वरी बल्ल, उनीभन्दा कान्छी बहिनी निष्ठा बल्लले प्रितालाई एकछिन पनि नछोडने मात्रै होइन, उनको रेखदेखमा उत्तिकै चासो दिइराखेका छन् । जसले गर्दा शारिरीक अशक्तता भएपनि उनलाई पढ्नमा राहत मिलेको छ । र जीवन सरल र सहज भएको छ । 

मष्तिष्कको विकास हुन नसकेर शारीरिक अपांगता भएकी प्रिताको यही संघर्षपुर्ण जीवनलाई समेटेर विज्ञानमा स्नातक पढ्दै गरेकी वहिनी निष्ठाले पावर प्वाइन्टबाट प्रस्तुत गर्दा चितवन जिल्ला विकास समितिको हलमा जम्मा भएका अभिभावकहरुको आँखा रसाए ।

हरेक कुरालाई नकारात्मक रुपमा नलिई सकारात्मक सोचको विकास गराउन र यस्ता संघर्षशील व्यक्तिको अनुभवबाट ज्ञान लिन होलिडे क्रियशन चितवनले जिल्ला स्काउटसंगको सहकार्यमा एक उत्प्रेरणा (मोटिभेशन)  कार्यक्रमको आयोजना गरेको थियो । 

सो कार्यक्रममा भाग लिन तिनै प्रिता बाबु पवनकुमार आमा रामेश्वरी र वहिनी निष्ठासंग बुद्ध एयरको हवाइजहाज चढेर पहिलोपटक चितवन पुगेकी थिइन । उनको हवाइ भाडा कार्यक्रम आयोजक होलिडे क्रियशनले वेहोरेको थियो । बाँकी ३ जनाको खर्च बल्ल परिवारले नै वेहोरेको बुबा पवनकुमार बल्लले बताए । यसअघि बसमा आफ्ना बाबुआमासंग स्वर्गद्धारीदेखि हलेसी महादेवसम्म गाडीमा घुमेकी प्रिताको हवाइयात्रा भने यो नै पहिलो थियो ।

कार्यक्रममा प्रितालाई उनको संघर्षपूर्ण तर सफलताको जीवनको कदर गर्दै सम्मान पनि गरिएको थियो । नेपाल स्काउटका पुर्वप्रमुख आयुक्त श्रीराम लामिछाने र आयोजक होलिडे क्रियशनकी प्रवन्ध निर्देशक लक्ष्मी पन्तले प्रितालाई ताम्रापत्र र माला दिएर सम्मान गरेका थिए । 

अभिभावक तथा वालवालिकालाई सकारात्मक सोचको विकास गर्ने उद्धेश्य राखी आयोजित सो कार्यक्रममा उत्प्रेरक अनुपकुमार बरालले आफ्नो आत्मवल बढाउन सकारात्मक सोचको जरुरी रहेको बताएका थिए ।

शारिरीक रुपमा अशक्त व्यक्ति पनि परिवारको सहयोग र सकारात्मक सोचका कारण जीवनमा हरेश नखाई अघि बढ्न सक्छ भन्ने उदाहरण दिनका लागि प्रिता र उनको परिवारलाई चितवनमा निम्त्याइएको आयोजक समितिकी पन्तले बताइन्  । 

९० जना वालवालिका तथा उनीहरुका अभिभावकहरुको सहभागिता रहेको सो कार्यक्रममा केही महिना अघि होलिडे क्रियशनले पहिलोपटक आयोजना गरेको च्याम्प चितवन २०७४ का विजेता दिवस सापकोटा र अंसु श्रेष्ठ पनि सहभागि थिए  ।