समाचार

हराएको सामान पाउँदा पीडित दंग, प्रहरी दिक्क

बलराम प्यासी
काठमाडौ, १९ माघ । चोरी भएको या पाकेट मारिएको सामान प्रहरीको सहयोगमा फिर्ता पाएपछि सामान धनी दंग पर्ने गरेता पनि सामान भेटाइदिने प्रहरी भने दिक्क मान्ने गरेको पाइएको छ । व्यस्त बजार, भीडभाड या सार्वजनिक सवारीसाधनबाट चोरी भएका र पाकेट मारिएका नगद या जीन्सी सामान सम्वन्धित व्यक्तिले फिर्ता पाउने वित्तिक्कै प्रहरी एक्लो हुने गरेको छ ।


सामान चोरी भएको व्यक्तिले आफ्नो सामान फिर्ता पाएपछि चोर या पाकेटमारलाई कारवाही नगर्न अनुरोध गर्नाले चोर र पाकेटमारको मनोवल बढ्ने गरेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक राजु लामाले बताए । ‘पीडित नै आफ्नो सामान पाएपछि पाकेटरमार या चोरलाई छोडीदिनुस भन्छन्, अनि हामीले के गर्नु ?’ उनी भन्छन् ।  

प्रभागले खटाएको सादा पोशाकका प्रहरीले पछिल्लो समयमा कोटेश्वर, जडिबुटी, तिनकुने, झोलुंगेपुल लगायतका क्षेत्रमा पाकेटमारीको साथै चोरीका घटनामा संलग्न दुईदर्जनभन्दा बढी व्यक्तिलाई चोरी गरेको र पाकेटमारेको मोवाइल, नगद र अन्य जिन्सीसहित समातेपनि पीडितले तत्कालै आफ्नो सामान लिएर जाने गरेकोले दोषिलाई चोरी मुद्धामा कारवाही गर्न कठिनाई परेको निरीक्षक लामा बताउँछन ।

आफ्नो सामान पाउने वित्तिक्कै पीडितहरु पाकेटमार या चोरलाई कारवाही गर्न प्रहरीलाई सघाउनुभन्दा पन्छिने गरेकै कारण दोषिलाई सार्वजनिक मुद्धामा मात्रै कारवाही गर्न वाध्य भएको प्रहरीको भनाई छ । जसले गर्दा चोर र पाकेटमारलाई पटकपटक त्यही कार्यमा संलग्न भएको पाइएको प्रहरीको भनाइ छ ।

पछिल्लो केही समयमा कोटेश्वर प्रहरी प्रभागले नगद, मोवाइल, ल्यापटप सहित चोर र पाकेटमारलाई पक्राउ गरेता पनि उनीहरुको साथबाट बरामद भएको सामान सम्वन्धित धनीले फिर्ता लगेका कारण मुद्धा फितलो हुन पुगेको थियो ।

कोटेश्वरको झोलुंगे पुलनजिकको एउटा घरको दुर्इवटा कोठाबाट एकैदिन एकै समयमा चोरी भएको आइफोन, पर्स (नगद) र ल्यापटपसहित चोरीमा संलग्न धराने भनिने नाइके दिपेश राई, प्रशान्त सेन्चुरी, अनिश मोक्तान र खेम मगरलाई प्रहरीले पक्राउ गरेतापनि चोरिएका सामान सम्वनिधत धनीले लैजाँदा उनीहरुलाई चोरी मुद्धामा नभई सार्वजनिक मुद्धा दर्ता गर्न प्रहरी वाध्य भएको थियो ।

पछिल्लो समयमा प्रहरीले कोटेश्वर र जडिबुटीमा हातहतियार सहित पाकेटमारीमा संलग्न भएका सरोज सुनार, रविन बर्मा, सुरज नेपाली र कुमार तामांगलाई प्रहरीले पक्राउ गर्न सफल भएतापनि उनीहरुमाथि सार्वजनिक मुद्धामा कारवाही सिफारिस गर्न प्रहरी वाध्य भएको थियो ।

चोरीको सामानसहित मुद्धा दर्ता गर्दा दोषिलाई लामै सजाय हुने गरेतापनि सार्वजनिक मुद्धामा भने दोषिहरु धरौटीमा छिटो उम्किन पाउने भएकोले उनीहरु पटकपटक सोही कार्यमा संलग्न भएको पाइएको प्रहरीको भनाई छ । फेरी मुद्धा फैसला नहुनन्जेलसम्म आफ्नो सामान फिर्ता नपाइने भएकोले पनि पीडितहरु आफ्नो सामान पाउने वित्तिक्कै मुद्धामामिलाबाट टाढा बस्न चाहन्छन ।  

पछिल्लो समय कोटेश्वर प्रहरीले कोटेश्वर, जडिबुटी लगायतका क्षेत्रलाई मदिरामुक्त बनाउन विभिन्न सर्च अभियान शुरु गरि करीव १ हजार ५ सय लिटर अवैध घरेलु मदिरा जफत गरेर नष्ट गरेको प्रभागले जनाएको छ ।