समाचार

मिर्गाैला फेल भएका नकर्मीलाई १ लाख १४ हजार सहयोग

काठमाडौं, १९ माघ । दुवै मिर्गाैला फेल भएर विगत १० वर्षदेखि नियमित डाइलोसिस गर्दै आएका कोटेश्वरका ग्रील व्यवसायी श्यामलाल नकर्मीलाई वचाउनका लागि कोटेश्वर व्यवसायी संघले दुईदिनमा १ लाख १४ हजार ६३५ रुपैया संकलन गरेको छ ।

संकलित रकम बिहीबार संघमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष सरोज कुमार थापाले मिर्गाैला पीडित नकर्मीलाई हस्तान्तरण गर्दै नकर्मीको लाग थप सहयोगका लागि सबैसंग आग्रह गरे ।

मिर्गाैला पीडित नकर्मीलाई मिर्गाैला प्रत्यारोपण गर्नका लागि आवश्यक पर्ने रकम जुटाउन कोटेश्वर व्यवसायी संघले २ दिनअघि ‘श्यामलाल नकर्मी वचाउ अभियान’ शुरु गरेको थियो ।
शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा नियमित डाइलोसिस गर्दै आएका नकर्मीलाई मष्तिस्क मृत्यु भएका व्यक्तिको मिर्गाैला प्रत्यारोपणको तयारी भइरहेको र यसको लागि आवश्यक पर्ने करीव ६ लाख रुपैयाँ जुटाउन सदस्यहरुलाई आह्वान गरेको संघका उपाध्यक्ष विकास श्रेष्ठले बताए ।

हप्तामा दुइदेखि तीनपटक डाइलोसिस गर्नको लाग आवश्यक पर्ने औषधि खरीदका लागि नकर्मीले कोटेश्वरको आफ्नो जायजेथा बेचिसकेका छन । 

उनलाई वचाउनका लागि कोटेश्वर व्यवसायी संघको साथै स्थानीय सेतीओपी युवा क्लवले पनि सबैसंग सहयोगको आह्वान गरेको छ । मिर्गाैला पीडित नकर्मीका श्रीमती र दुईजना साना छोराछोरी छन् ।