समाचार

मुस्ताङमा हिमपात, काठमाडौंमा विहानैदेखि वर्षा

काठमाडौं, १० माघ । मुलुकका मध्य तथा पश्चिमी क्षेत्रमा बदली हुनुका साथै विहानैबाट पानी परेको छ । हिमाली जिल्लामा हिमपात भएको छ भने पहाडी जिल्लामा पानी परेको छ । पश्चिमी वायुको प्रभावको कारण आज देशभर मौसममा बदली भएको छ । हिमाली जिल्ला मुस्ताङमा भने बुधबार हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । बिहानसम्म हिउँ पर्ने क्रम जारी रहेको जनाइएको छ । लामो समयको खडेरीपछि भएको हिमपातले कृषकहरु उत्साहित भएका छन् । 
हिमपातसंगै बढेको चिसोले जनजिवन प्रभावित भएको छ । सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् । विहानै एक फिट बाक्लो हिउँ जमेको छ । हिमपातपछि पोखरा जोमसोम हवाई उडान अवरुद्ध भएको छ । बेनी जोमसोम सडकको मुस्ताङ खण्डमा सवारी साधन चलेका छैनन् ।  मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको स्थानीयबासीले बताएका छन् । हिउँ परेपछि स्याउ खेती फस्टाउने, जौ, गहुँ, उवा, फापर बालीमा सिचाई हुने भएकाले कृषक खुसी भएका हुन् । म्याग्दीको उच्च स्थानमा रहेको धौलागिरी गाउँपालीका १ गुर्जा र घोडेपानीमा पनी हिउँ परेको छ । यसैबीच, उपत्यकामा बुधबार बिहान पानी परेको छ । बुधवार दिनभरजसो पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ । 
पूर्वमा भने विहीबार पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाको तुलनामा नेपालको पश्चिम क्षेत्रमा बढी वर्षा भएको छ । अछाममा असिनासमेत परेको छ भने डोटी, दिपायल, दाङलगायतका स्थानमा पानी परेको छ । पानी परेको बेला चिसो महसुस भए पनि त्यसपछि भने क्रमशः जाडो घट्दै जानेछ ।