समाचार

सहयोगी हातलाई सामाजिक संस्थाको सम्मान

काठमाडौं, ७ माघ । जेष्ठ नागरिकको क्षेत्रमा सक्रिय रहँदै आएको न्हापांगु पलाः नामक संस्थाले मध्यपुर थिमिका संचारकर्मी केके मानन्धरलाई सम्मान गरेको छ । संस्थाले काठमाडौंमा आयोजना गरेको दोस्रो वार्षिक कार्यक्रममा संचारकर्मी मानन्धरलाई सम्मान गरेको हो । पत्रकारितामार्फत जेष्ठ नागरिकहरुको मुद्दालाई सम्बन्धित क्षेत्रसम्म प्रचार गर्न तथा समाज चित्रणमा सकारात्मक भूमिका निर्वाह गरेकोलाई मूल्यांकन गरी उहाँलाई सम्मान गरेको हो । 
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र ८ का प्रतिनिधि सभासद् जीवनराम श्रेष्ठले नयाँ बन्ने संघीय संरचना अनुरुपको संसद्मा जेष्ठ नागरिकको मुद्दालाई जोड दिइने बताउनुभयो । “म र मेरो पार्टीले निर्वाचन अघि पनि सामाजिक सुरक्षा भत्ताको सवाल उठाएका छौं । चुनावी एजेन्डा नै भएकोले अबको दिनमा यसलाई कार्यान्वयन गर्नेछौं । सभासद् श्रेष्ठको भनाइ थियो । त्यस्तै कार्यक्रममा अन्य वक्ताहरुले पनि देवतुल्य मानव जीवनको मूख्य आधारको रुपमा रहेका जेष्ठ नागरिकलाई उच्च सम्मान गर्नुपर्ने धारणा राखे । 

हुन पनि व्यस्त शहरी दैनिकीसँग बच्चा देखि अन्य पारिवारिक सदस्य आ–आफ्ना काममा लाग्नु पर्ने बाध्यताले कतिपय जेष्ठ नागरिक सदस्य परिवारभित्र रहेर पनि एक्लो हुने गरेका छन् । दिनभर एक्लोपनको महसुससँगै उनीहरुमा नैरास्यता छाउने देखि रोगव्याधीले चाँडो आक्रमण गर्ने उदाहरण अधिक छ । समाजभित्रका यी आधाररुपी जेष्ठ सदस्यहरुको समस्यालाई निराकरण गर्ने क्षेत्रमा काठमाडौंको जैसिदेवलस्थित न्हापांगु पलाः नामक संस्थाले काम गर्दै आएको छ । संस्थाले संयुक्त परिवारभित्र पनि एक्लो महसुस गर्ने जेष्ठ सदस्यहरुलाई दिवासेवा दिँदै आएको छ । 

“हामीले जेष्ठ नागरिक सदस्यलाई दिनभर भेला गराएर उहाँहरुको अदृश्य दुःख भुलाउने काम गर्छौं ।” संस्थाका अध्यक्ष शिला सायमिले बताए । उच्च आदर गर्नुपर्ने व्यक्तिलाई सुखी तुल्याउनु संस्थाको प्रधान उद्देश्य रहेको विषयमा समेत सायमिले प्रष्ट पारे । संस्थाले हाल काठमाडौंको भित्री शहरका चार दर्जन जेष्ठ नागरिक सदस्यलाई कोहिटीको बिहारमा दिनभर भेला गराएर जेष्ठ नागरिकको इच्छा बमोजिमका गतिविधि सञ्चालन गर्न दिइरहेको छ ।
विगत केहि वर्ष यतादेखि जेष्ठ नागरिकको क्षेत्रमा काम गर्दै आएको संस्थालाई दुई वर्ष अघि मात्र दर्ता गरेको थियो । सोही अनुरुप दोस्रो वार्षिक कार्यक्रम गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग गरेकाहरुलाई सम्मान तथा गत मंसीरमा निर्वाचित प्रतिनिधि र प्रदेश सदस्यलाई बधाई तथा शुभकामना दिएको थियो । कार्यक्रममा नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजु, प्रा. डा. दुर्गालाल श्रेष्ठ, संस्कृतिविद् चुन्दा बज्राचार्य, वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धर, गोरखा पत्र दैनिकका पूर्व प्रधान सम्पादक पुष्करभक्त माथेमा, नेपालभाषा क्लबका अध्यक्ष कमला मानन्धर लगायतको सहभागिता थियो ।