समाचार

चुनावको मुखमा घरघरमै वृद्धभत्ता र स्वास्थ्य जाँच

काठमाडौं, मंसिर । यही १० र २१ मंसीरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको दिन नजिकिँदै जाँदा राजनीतिक दलसंग सम्वद्ध उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा ल्याउन भरमग्दुर प्रयास गरिरहेका छन । 
मतदातासंग कोही उम्मेदवार आफुले गर्नसक्ने कुरा गर्दैैछन भने कोही झुठा आश्वासन वाँडिराखेका छन । केही राजनीतिक दलहरु भने आफ्नो नेतृत्वमा रहेको स्थानीय निकायबाट मतदातालाई अप्रत्यक्षरुपमा केही न केही राहत दिएर आफ्नो पक्षमा मत हाल्न वकालत गरिराखेका छन् । 
यसै सिलसिलामा गत ३१ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबट विजयी भएका मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने सो नगरपालकाको ५ नं वडाका केही जेष्ठ नागरिकको घरघरमै गएर वृद्ध भत्ता मात्रै होइन, उनीहरुको स्वास्थ्य जाँच र एक÷एक सीसी हर्लिक्स समेत वाँड्न भ्याएका छन । 
यसका लागि नगरप्रमुख श्रेष्ठले आफु सञ्चालक समितिको अध्यक्ष रहेको नेपाल कोरिया मैत्री अस्पतालका स्वास्थ्यकर्मीलाई अस्पतालबाट सेवा दिनुको साटो घरघरमै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणको लागि लगेका छन भने वृद्ध भत्ता बाड्नको लागि नेपाल वैंक लिमिटेड र राष्ट्रिय वाणिज्य वैंक ठिमी शाखाका कर्मचारीलाई ल्याप्चेको लागि मसीको प्याड र नगद समेत बोकाएर लगेका छन् । 
सर्वसाधारणले हेर्दा जेष्ठ नागरिकलाई घरघरमै वृद्ध, विधवा र एकल भत्ताको व्यवस्थाको साथै स्वास्थ्य जाँच र औषधि उपचार सेवा उपलब्ध गराएको देखिएता पनि यस कार्यलाई विपक्षी राजनीतिक दलले भने नगरप्रमुख श्रेष्ठले पदको दुरुपयोग गर्दै मतदातालाई आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाउन थालेका छन ।
विपक्षी दलले आरोप लगाएता पनि नगरप्रमुख श्रेष्ठको यो कार्यले नगरका सबै वडामा निरन्तरता पाउने हो भने अशक्त, जेष्ठ, एकल महिला र वृद्धवृद्धालाई भने निकै फाइदा पुग्ने स्थानीय वृद्धहरु बताउँछन । 
‘चुनावकै मुखमा भएपनि घरमै वृद्धभत्ता पाउँदा त निकै खुसी लाग्यो, त्यसमाथि डाक्टर पनि घरमै आए’—स्थानीय ७८ वर्षिय आशनारायण श्रेष्ठले भने—‘सँधै यसैगरि घरमै स्वास्थ्य जाँच र भत्ता पाए त हुन्थ्यो नि ।’ 
वडावासीको घरमै स्वास्थ्य जाँच र वृद्धभत्ता वितरण कार्यमा नगरप्रमख श्रेष्ठ केहीबेर देखा परेतापनि बाँकी समय उनले उपप्रमुख अन्जना मधिकर्मी श्रेष्ठ र सम्वन्धीत वडाका वडाध्यक्षलाई खटाएका छन् । 
भक्तपुर जिल्लाको २ नं निर्वाचन क्षेत्रमा पर्ने सो नगरमा आगामी २१ मंसीरमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले युवा नेता एवम् पुर्वमन्त्री महेश बस्नेतलाई उठाएको छ भने प्रदेशसभातर्फ स्थानीय नेता राजेन्द्रमान श्रेष्ठलाई उठाएको छ । 
वाम गठवन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका बस्नेतलाई टक्कर दिन नेपाल मजदूर किसान पार्टीबाट पुर्व सांसद अनुराधा थापामगर र लोकतान्त्रिक गठवन्धनबाट पुर्व सभामुख दमननाथ ढुंगाना सो क्षेत्रबाट निर्वाचन लड्दैछन ।