समाचार

जापानमा जन्मदर घट्दै , बुढाबुढी बढ्दै

बलराम प्यासी

काठमाडौ,११ भदाै । पछिल्लो समय जापानमा बुढाबुढीको संख्या बढीरहेको र बच्चा जन्मिने दर क्रमशः घटीरहेको प्रति जापान सरकार चिन्तित देखिन थालेको छ । तैपनि नेपालमा जस्तो बुढाबुढीलाई कसरी स्याहार्ने भन्ने जापानलाई पटक्कै चिन्ता छैन । त्यहाँ जेष्ठ नागरिक भत्ता, सरकारी स्तरमा गुणस्तरीय स्वास्थ्य सेवा र व्यक्तिगत नर्सिङ्ग स्याहारका कारण बु्ढ्यौली जीवन सहज भएको बताइन्छ । जापानमा हाल ६६ हजारभन्दा बढी एकसय वर्ष उमेर पुगेका बुढाबुढीको संख्या नै रहेको छ ।
जापानमा ६५ वर्ष उमेर माथिका २८ प्रतिशत र नेपालमा ६ प्रतिशत तथा जापानमा १५ वर्षमुनिका केटाकेटी १२ प्रतिशत र नेपालमा ३१ प्रतिशत रहेको छ । जापानमा प्रति एकहजारमा ८ जना र नेपालमा प्रति एकहजारमा २० जना केटाकेटी जन्मिने गरेका छन् । जापानमा प्रति एकहजारमा १० र नेपालमा प्रति एकहजार ६ जना मृत्युदर रहेकोछ । 
जापानको टोकियो विश्वविद्यालयबाट ‘जापानमा बुढ्यौली’ विषयमा शोध गरेर फर्केका जनसंख्यावीद् डा.होमनाथ चालिसेले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा जापानमा बुढ्यौलीको र केटाकेटी जन्मिने दरबारे कार्यपत्र प्रस्तुत गर्दै जापानमा बढ्दो बुढ्यौली र घट्दो जन्मदरबाट अर्थतन्त्रमा परेको असर बारे नेपालले बेलैमा सोच्नुपर्ने बताए । नेपालमा पनि यस्तो समस्या नआउला भन्न सकिन्न । छोराछोरी कमाईको सिलसिलामा विदेशिने कारणले गर्दा बुढाबुढीलाई रेखदेख र स्याहार गर्ने संख्या घट्दै जानु, उनीहरुमा विभिन्न रोग लाग्नु र सरकारी संरक्षणको अभावका कारण नेपालले यो विषयमा तत्काल सोच्नु आवश्यक रहेको पनि उनीहरुले बताए । 

जापानमा उच्च शिक्षा अध्ययन गरि फर्केका नेपाली विद्यार्थीहरुको संगठन ‘जुआन’ले आयोजना गरेको कार्यक्रममा डा.चालिसेले भने जापानमा पुरुषको सरदर आयु ८१ वर्ष र महिलाको ८७ वर्ष रहेको उल्लेख गर्दै नेपालमा पुरुषको सरदर आयु ६९ र महिलाको ७१ वर्ष भएको बताउँदै भने ‘जापानमा पुरुषहरु ७१ वर्षसम्म र महिला लगभग ७६ वर्षसम्म निरोगी भएको पाइन्छ ।’
संसारकै बुढाबुढी धेरै भएको देश जापान हो भन्दा फरक पर्दैन । बुढ्यौलीमा पनि स्वस्थ रहेका जापानीहरु यतिखेर संसारकै लागि शोधको विषय बनेको छ । शरीरले भ्याएसम्म काम गर्न रुचाउने कारणले नै जापानीहरु बुढ्यौलीमा पनि फुर्तिलो र निरोगी भएको बताइन्छ । 
बुढाबुढीहरु निरोगी र धेरै बाँच्ने तथा युवाहरु ३० वर्षपछि मात्रै विहे गर्ने र एउटामात्रै बच्चा जन्माउने परिपाटीले गर्दा जापानमा जनसंख्या घट्दो क्रममा रहेको पनि डा. चालिसेले अनुसन्धानको क्रममा पत्ता लगाएको बताए । यसैका कारण जापानमा सन् २००८ मा १२ करोड ८० लाख (१२८ मिलियन) जनसंख्या रहेकोमा अहिले सो संख्या घटेर १२ करोड ७० लाख मात्रै जनसंख्या छ । कुल जनसंख्याको १३ प्रतिशत बुढा या बुढी एक्लै जीवन बिताउन वाध्य भएको पनि डा.चालिसेले बताए ।
बुढाबुढीको कुल जनसख्यांको २८ प्रतिशत ६५ वर्ष काटेका बुढाबुढी भएतापनि उनीहरुको जीवन सहज र सरल हुनुको अध्ययन गर्दै नेपालले पनि नेपालका जेष्ठ नागरिकहरुलाई त्यसप्रकारको व्यवस्था गर्नसक्नुपर्ने राष्ट्रिय योजना आयोगका सदस्य डा.सुनिल बाबु श्रेष्ठले बताए ।
जापानी राजदूतावासको संस्कृति विभागकी सचिव चिसाको निसीतानीले  सरदर जापानीको आयु बढेकोप्रति खुसी र चिन्ता दुवै व्यक्त गरीन । उनीहरु लामो समय बाँच्नु खुसीको कुरा हो तर बढ्दो संख्यामा बुढाबुढी बढ्नु भने चिन्ताको विषय भएको बताइन । 
परराष्ट्र मन्त्रालयका उपसचिव डा. डमरुवल्लभ पौडेलले नेपालमा बुढ्यौलीको विषयमा अहिलेसम्म सरकारले कुनै अनुसन्धान नगरेकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरुको बारेमा सोच्न र कार्यक्रम ल्याउन ढिलो भइसकेको बताए । कार्यक्रममा ‘जुआन’का अध्यक्ष मनोज गिरी, महासचिव डा.पवन भट्टराई, पुर्व उपाध्यक्ष डा.प्रमोद पौडेललगायतले बोलेका थिए ।