समाचार

मन्त्रिपरिषद् बैठकमा के के निर्णय भए ?

काठमाडौं– सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा राजश्व सचिव राजन खनाललाई नियुक्त गरेको छ।  शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले राजश्व सचिव खनाललाई निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। 

त्यसैगरी उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान विकास समितिको कार्यकारी निर्देशकमा डाक्टक बुद्धिबहादुर नेपालीलाई मनोनयन गरिएको छ। बैठकले ख्वप विश्वविद्यालयसम्बन्धी विधेयकलाई व्यवस्थापिका संसदमा पेश गर्नका लागि स्वीकृत गरी व्यवस्थापिका संसदको विधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संञ्चार मन्त्री सुरेन्द्र कार्कीले जनाकारी दिए।

बैठकमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमण लगायत समसामयिक विषयमा पनि छलफल भएको सुचना तथा सञ्चार मन्त्री कार्कीले जानकारी दिए।
१९ कार्तिक, २०७३ ।