समाचार

रहेनन् गायक महेश पाल्पाली

बुटवल– चर्चित गीत ‘हे आमा नेपाल तिमीलाई, संसारकै राम्री बनाउँला’ का गायक महेश पाल्पालीको ८७ वर्षको उमेरमा निधन भएको छ। दम रोगबाट थलिएका पाल्पालीले २०२२ सालमा ‘हे आमा नेपाल तिमीलाई’ कलकत्तामा रेकर्ड गराएपछि चर्चा कमाएका थिए। 

विहीबार राति आफ्नै निवास दीपनगर ९, बुटवलमा निधन भएको हो। ‘मलाई मेरै देशकै सिन्दुर लाउन’, ‘जल्यो जल्यो तन जल्यो’, ‘माया फिर्ता लाँदै छु, आउँदिन म जाँदै छु’ आदि उनका चर्चित गीत हुन्। उनी नातीकाजी, नारायणगोपाल, तारादेवीका समकालीन कलाकार थिए।

सेनामा मेजर रहेका बाबुले पढाउन काठमाडौं लगेपछि नातिकाजी, तारादेवी, यादव खरेल, रामविक्रम सिजापतिसँगको सङ्गतबाट पाल्पाली गीत संगीतमा लागेका हुन्। २०३० सालमा पाल्पाबाट बुटवल झरेका पाल्पाली बुटवलको सुकुम्वासी बस्ती दीपनगरमा एक छोरा एक बुहारी र ३ नाती नातीनाका साथमा बस्दै आएका थिए।

१९ कार्तिक २०७३ ।