समाचार

मुखर्जीको स्वागतका लागि पोखरामा पनि भव्य तयारी

कास्की– नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी भोलि जनकपुरपछि पोखरा जाने कार्यक्रम रहेको छ । जनकपुरमा जस्तै पोखरमा पनि उनको स्वागतका लागि भव्य तयारी थालिइको छ । गएको वर्ष मिनी सार्क सम्मेलन र बेलायती राजकुमार ह्यारीको भ्रमणले पोखरमा अन्तर्राष्ट्रिय चासो र चर्चाको पाएको थियो भने अहिले राष्ट्रपति मुखर्जीको भ्रमणको विषयले चर्चा चुलिएको छ । 

विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यका रुपमा आफ्नो पहिचान स्थापित गरेको पोखरा पछिल्ला समयमा अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण व्यक्तिको भ्रमणको स्थल समेत बन्नुले यसको गरिमा र महत्व अझै बढाएको छ। भारतीय राष्ट्रपतिको शुक्रबार हुन लागेको पर्यटकीय नगरी पोखराको भ्रमणले यो विदेशी राष्ट्रप्रमुखको भ्रमणको प्राथमिकतामा पनि परेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल बताए । 

 ‘राष्ट्रपति मुखर्जीको भ्रमणले पोखराको गरिमा र महत्वलाई थप उचाइमा पु¥याएको छ,’ उनले भने, ‘नेपाल भ्रमणको कार्यक्रममा पोखरा पनि पर्नु यहाँका लागि महत्वपूर्ण अवसर हो।’ राष्ट्रपतिको पोखरा भ्रमणलाई भव्य बनाउनका लागि सम्पूर्ण तयारी गरिएको छ । 
भूकम्पपछिको पर्यटनमा भारतीय पर्यटकको कम आगमन भएको अवस्थामा पर्यटकीय नगरी पोखरामा पनि उनको भ्रमणको कार्यक्रम रहेकाले भारतीय पर्यटक थप आकर्षित गर्न महत्वपूर्ण सहयोग पुग्ने पर्यटन व्यवसायीको भनाइ छ ।