समाचार

भारतीय राष्ट्रपतिको नेपालमा भव्य स्वागत, महत्वपूर्ण भेटवार्ता जारी

काठमाडौं– नेपालको तीन दिने राजकीय भ्रमणका लागि भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं आउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जी बुधबार काठमाण्डौ आउनुभएको हो । 
भारतीय वायुसेनाको विशेष विमानबाट बुधबार मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा मुखर्जी उत्रिनुभएको थियो । मुखर्जीलाई राष्ट्रपति भडारीले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभयो ।

मुखर्जीको स्वागतका लागि उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत लगायत मन्त्री सरकारी उच्च पदस्थ अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो । विमानस्थलमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति मुखर्जीको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । त्यसक्रममा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो ।

समकक्षी भण्डारीको निमन्त्रणमा नेपाल आउनुभएका मुखर्जीले भेटवार्ता र कार्यक्रमको थालनी पनि राष्ट्रपति भण्डारीसंगको भेटवार्ताबाटै गर्नुभयो । विमानस्थलबाट दुवै देशका राष्ट्रपतिहरु एउटै सवारीमा शितलनिवास पुग्नुभएको थियोे ।  भेटमा दुईपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा छलफल भएको थियो । भेटमा भारतका राष्ट्रपति मुखर्जीले नेपालको संविधान जारी भएकामा राष्ट्रपति भण्डारी, नेपाली जनतालाई बधाई दिनुभयो ।

भेटमा नेपाल तर्फबाट परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, राष्ट्रपतिका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी लगायतको उपस्थिति थियो । भेटमा मुखर्जीले राष्ट्रपति विद्या भण्डारीलाई भारत भ्रमणको निम्तो दिनुभएको छ । भारत भ्रमणको निम्तो पाएपछि राष्ट्रपति भण्डारीले समय मिलाएर भारत भ्रमण गर्ने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

शितलनिवासमा भेटवार्तापछि राष्ट्रपति मुखर्जी भारतीय दुतावासले गरेको दिवाभोजमा सहभागी हुनुभयो । त्यसक्रममा उहांले विभिन्न क्षेत्रका व्यक्तित्चसग अनौपचारिक कुराकानी गर्नुभएको थियो । ३६ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुग्नु भएका भारतीय राष्ट्रपति मुखर्जी शुक्रवार स्वदेश प्रस्थान गर्नुहुनेछ ।

यसैबीच, भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्यादेवी भण्डारी सहितका विशिष्ट व्यक्तिले स्वागत गरे । विमानस्थलको अतिबिशिष्ट कक्षमा मात्रै होइन, तीन दिने राजकीय भ्रमणका लागि नेपाल आउनुभएका भारतीय राष्ट्रपति मुखर्जीले जताततै सम्मान पाउनुभएको छ ।

राष्ट्रपतिको सवारी रुटमा स्वागत गेट, व्यानर, दुई देशका राष्ट्रिय झण्डा राखेर स्वागत गरिएको छ ।  राष्ट्रपतिको स्वागतमा सिनामंगल, बानेश्वर, माइतिघर, रत्नपार्क, लौनचौर, बालुवाटार, चावहिल लगायका दर्जनौ स्थानमा स्वागत गेट राखिएको छ । यस्तै, महानगरपालिका, उद्योगी, व्यवसायी लगायतका विभिन्न क्षेत्रले समेत तुल ब्यानर राखेर भारतीय राष्ट्रपतिलाई स्वागत गरेका छन् । भारतीय राष्ट्रपतिको भ्रमणका कारण काठमाडौंका अधिकांश मुख्य सडकहरु सफा गरिएका छन, भने सडकमा गमला, फुल राखेर मुखर्जीको सम्मान गरिएको छ । 

१८ कार्तिक २०७३ ।