समाचार

मुखर्जीको भ्रमणले नेपाल–भारत सम्बन्ध थप प्रगाढ बन्छः विज्ञहरु

काठमाडाैं– १८ वर्षपछि नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्ध प्रगाढ बन्ने विज्ञहरुले बताएका छन् । मुखर्जीको भ्रमणले दुई देशबीचमा पछिल्लो समय चिसिएको सम्बन्ध फेरी पुरानै अवस्थामा आउने विज्ञहरुको तर्क छ । नेपाल र भारत सरकारले समेत मुखर्जीको भ्रमणले दुई देशको सम्बन्ध प्रगाढ बन्ने बताएका छन् । 
अघिल्लो वर्ष भएको नाकाबन्दीबाट पाठ सिक्दै भारतीय राष्ट्रपतिको भ्रमणलाई सम्बन्ध सुधारका हिसाबमा प्रयोग गर्नुपर्ने विज्ञको भनाइ छ । मुखर्जीको नेपाल भ्रमणका क्रमम गरिएको सम्मान र सद्भावले सम्बन्ध विकासमा योगदान पुग्ने विज्ञको भनाइ छ ।
यता भारतले पनि मुखर्जीको भ्रमण सद्भाव भ्रमण हुने बताइसकेको छ । नेपाल सरकारले पनि भ्रमण खासगरी सम्बन्ध सुधारमा केन्द्रित रहने बताएको छ । मुखर्जीको नेपाल भ्रमणका बेला कुनै पनि सम्झौता नहुने सरकारी भनाई छ । तर विष्लेषकहरुले भने उदाउँदो अर्थतन्त्रका रुपमा देखिएको भारतीय उच्च अधिकारीको भ्रमणका बेला विकासका आयोजना लगायतका विषयमा छलफल गर्नुपर्ने बताउँछन् । यसअघि तात्कालिन भारतीय राष्ट्रपति के आर नारायनन्ले २०५४ सालमा नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो । राष्ट्रपति मुखर्जी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बुधबार काठमाडौ आउनुभएको हो ।