समाचार

भाइटीकाको दिन रानीपोखरी मन्दिरमा दर्शन गर्न नपाइने

काठमाडौं–रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन् । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने उक्त मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले बालगोपालेश्वरको दर्शन गरी टीका लगाउँदै आएका भए पनि  गत वर्ष गएको विनाशकारी भूकम्पका कारण मन्दिर पूर्ण रुपमा क्षति भएका कारण यो वर्ष दाजु बहिनी मन्दिर परिसरमा टीका लगाउनबाट बञ्चित भएका हुन् । 
मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगेपछि पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई पुनःनिर्माणको जिम्मा दिइएको थियो । गत वैशाख दोस्रो सातादेखि सुरु गरिएको पुनःनिर्माणअन्तर्गत मन्दिरमा पिल्लर राख्ने काम भइरहँदा पुरातत्व विभागले मापदण्ड विपरीत पुनःनिर्माण भएको जनाउँदै भदौ १३ गतेदेखि तत्काल पुनःनिर्माण रोक्न निर्देशन दिएको हुन पुनर्निमार्णका काम अघि बढ्न सकेको छैन । 
सर्वसाधारणका लागि मन्दिरभित्र जाने द्वारमा मन्दिरको फोटो राखेर पूजा गर्ने र टीका लगाउने तयारी भएको छ, गत वर्ष पनि यसरी नै टीका लगाइएको  थियो । ऐतिहासिक महत्व रहेको रानीपोखरी प्रताप मल्लका कान्छा छोरा चक्रव्रतेन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन मन्दिरको निर्माण गरिएको हो ।