समाचार

गिरानचौरको एकीकृत बस्ती स्थानीयलाई हस्तान्तरण

सिन्धुपाल्चोक– धुर्मुस–सुन्तली फाउन्डेसन निर्माण गरका ६५ घर वटा र एउटा सामुदायिक भवन स्थानीयलाई हस्तान्तरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक औपचारिक कार्यक्रमका बीच बस्ती स्थानीयलाई हस्तान्तरण गरेकी हुन् । बस्ती व्यवस्थापन प्रमुख रामबहादुर लामालाई  घरको साँचो हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा धुर्मस र सुन्तलीले कलाकारको धर्म र कर्म चिनाएको भन्दै भण्डारीले उनीहरूको कामबाट राष्ट्रले सिक्नुपर्ने बताइन् । कार्यक्रममा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले धुर्मुस सुन्तलीलाई महामानवको काम भएको बताउँदै बस्ती सिकाइको विश्वविद्यालय भएको बताए । अर्का सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा धुर्मुस सुन्तली भगावन नै बनेर आएको बताए ।

कलाकारद्वय महजोडीले धुर्मुस सुन्तलीको कामको खुलेरै प्रसंसा गरे । उनीहरुले भने– ‘कलाकारकै शीर उँचो भयो । हामी गर्व गर्छौं ।’ उद्योगमन्त्री नविन्द्रराज जोशीले सरकारले पनि यसबाट केही पाठ सिक्नुपर्ने धारणा राखे ।

एकीकृत नमुना बस्ती कुल पाँच करोड १४ लाख ४९ हजार १८७ रुपैयाँको लागतमा निर्माण भएको र ३५ रोपनी जग्गामा निर्माण गरिएको कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बताए। स्वच्छ र हरियाली सहरको अवधारणासहित अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको हो।

१२ कार्तिक २०७३ ।