समाचार

अवैध कार्डको प्रयोग गरी पैसा झिक्ने बुल्गेरियाली नागरिक पक्राउ

काठमाडौं– अबैध एटिएम कार्ड प्रयोग गरी काठमाडौंको ठमेलका केही एटिएम बुथबाट पैसा झिक्ने  एक बुल्गेरियाली नागरिकलाई विदेशी मुद्रासहित प्रहरीले पक्राउ गरेको छ । बुल्गेरियाली नागरिक डिमो अन्तनासव स्टेफनोभले अवैध एटिम प्रयोग गरी अरुको खाताबाट पैसा झिकेको आरोपमा प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई नियन्त्रणमा लिएर उनको साथबाट २५ थान एटिएम कार्ड, १७ हजार २ सय पचास अमेरीकी डलर, म्याग्नेटिक स्ट्रिप रिडर राइटर, हिडेन क्यामेरा, स्कीमर लगायत सामान बरामद गरेको छ । विभिन्न बैंकका ग्राहकको मोबाइलमा एसएमएस अलर्ट मार्फत रकम निकालेको भनी सूचना आएपछि सम्बन्धित बैंकको उजुरीका आधारमा ब्युरोले अनुसन्धान थालेको थियो । ती व्यक्ति अक्टोबर ७ का दिन नेपाल आएर ठमेलस्थित होटल जगतमा बसेको प्रहरी अनुसन्धानले देखाएको छ ।

उनीविरुद्ध बैकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कारवाही भइरहेको पनि प्रहरीले जनाएको छ । ती बुल्गेरियाली नागरिकले ठमेल लगायतका एटिएम बुथमा पसेर हिडेन क्यामेरा र कार्डबाट डाटा कपि गर्ने डिभाईस गोप्य रुपमा जडान गरी डाटा स्किमरको माध्यमबाट ग्राहकको पिन नम्बर पत्ता लगाई पुनः एटिएम बुथमा गएर रकम निकाल्ने गरेको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ ।

१२ कार्तिक २०७३ ।