समाचार

बन्द स्वदेशी उद्योग पुनः सञ्चालनमा ल्याइँदै

काठमाडौं–सरकारले बन्द रहेका स्वदेशी उद्योगहरु पुनः सञ्चालन गर्ने भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले मन्त्रालयमा पत्रकार सम्मेलन गरी निजी क्षेत्रको समेत सहभागितामा बन्द रहेका उद्योग सञ्चालन गर्ने तयारी भएको जानकारी दिनुभएको हो । सरकारले लामो समयदेखि बन्द रहेका हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना र वीरगञ्ज चिनी कारखाना पुन सञ्चालनमा ल्याउन लागेको हो । 
त्यसैगरी, गोरखकाली रबर उद्योग र नेपाल ओरियण्टल म्याग्नेसाइट उद्योग सञ्चालनको मोडेल र प्रक्रियाका बारेमा अध्ययन गरेर चाँडै नै निर्णय गर्ने मन्त्रालयले जनाएको छ । मन्त्री जोशीले पहिलो चरणमा हेटौंडा कपडा उद्योगबाट सुरक्षा निकाय, सरकारी कर्मचारी र सरकारी विद्यालयको पोशाक उत्पादन गर्ने र दोस्रो चरणमा निजी क्षेत्रको सहभागितामा निश्चित कोष खडा गरेर बजारमा प्रतिपर्धा गर्ने पोशाकको उत्पादन गर्ने जानकारी दिनुभयो । 
मन्त्री जोशीले निजी क्षेत्रसँग सहकार्य गरेर बजारमा प्रतिष्पर्धा गर्ने पोशाक उत्पादनका लागि सरकारले चाँडै बिस्तृत कार्ययोजना तयार गर्ने जानकारी दिनुभयो । २०५७ सालदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको २५ प्रतिशत शेयर रहने गरी सञ्चालमा ल्याउने तयारी सरकारको छ । 
त्यसैगरी बुटवल धागो कारखाना र वीरगञ्ज चिनी कारखानालाई खुल्ला प्रतिस्पर्धाबाट नीजि क्षेत्रलाई भाडामा सञ्चालन गर्न दिने तयारी थालिएको छ । बुटवल धागो कारखाना २०६६ सालबाट र वीरगञ्ज चिनी कारखाना २०६१ सालबाट बन्द रहेका थिए । वीरगञ्ज चिनी कारखानाका अधिकांश कर्मचारीलाई सरकारले रकम सहित अवकास गराएपनि एक सय ९३ जनाले रकम नलिई अदालतमा मुद्धा हालेका छन् । 

१२ कार्तिक, २०७३ ।