समाचार

डेंगुको प्रकोप बढ्यो, रोग नियन्त्रणमा सरकार उदासिन

झापा–तराईका जिल्लामा लाखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप बढेको छ । झापामा यस रोगले माहामारीको रुप लिंदा समेत सरकारी निकायले डेंगु नियन्त्रणमा प्रभावकारी काम गर्न सकेको छैन । बिरामी सुताउने एउटा सय्या समेत नभएको दमकको एकमात्र सरकारी अस्पताल दमक अस्पताललाई सरकारले डेंगुको उपचार केन्द्र तोकेपछि झन रोग नियन्त्रणमा सरकार उदासिन बनेको पाइएको हो ।
केहीसाता अघिबाट दमक र आसपासका क्षेत्रमा डेंगु फैलिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले विरामीको निःशुल्क उपचारका लागि भन्दै १५ सय्याको दमक अस्पताललाई तोकेको थियो । तर, अस्पतालमा भने बिरामी सुताउने एउटा सय्यासम्म नहुँदा बिरामीहरु महंगो शुल्क तिरेर निजि क्लिनिकमा जान बाध्य छन् । 
२८ जना कर्मचारीको दरबन्दी रहेको अस्पतालमा १५ जनाभन्दा बढी कर्मचारी भएपनि आवश्यक स्रोतसाधन नहुदा डेंगुका बिरामीले नाडी छाम्ने भन्दा अरु कुनै सेवा पाउन सकेका छैनन् । 
अस्पतालमा आएका बिरामीलाई कमिसनको चक्करमा अस्पतालका कर्मचारीले नै नजिकैको सञ्जिबनी प्याथोलोजि ल्यावमा पठाउने गरेको विरामीहरुको गुनासो छ । उक्त ल्याव पनि बर्षौं अघिदेखि अनुमतिविना नै संचालन हुदै आएको छ । हाल सम्म दमकका विभिन्न अस्पतालमा उपचार गराउन आएकामध्ये १ सय १५ जनामा डेंगुको भएको पुष्टि भइसकेको छ ।
१२ कार्तिक, २०७३ ।