समाचार

यमपञ्चक अर्थात तिहार शुरु, पहिलो दिन कागको पूजा

काठमाडौं– नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार आजबाट शुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । उज्यालो पर्वका रुपमा मनाइने तिहारको पहिलो दिन काग तिहार मनाइदैछ  । कागको पूजा गरी मीठो मीठो खानेकुरा दिने गरिन्छ । वैदिक मान्यता अनुसार कागलाई दैत्यराज यमराजको दूतको रुपमा पूजा गरी विभिन्न खानेकुरा खान दिइन्छ । शुभ–अशुभ दुबै सन्देश बाहकको रुपमा समेत कागलाई लिने गरिन्छ । 
त्यस्तै, तिहारको दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन विहान गाईको पूजा गरी बेलुका धनकी देवी लक्ष्मीको पूजा आरधना गर्ने गरिन्छ । चौथो दिन गोवद्र्धन पूजा र अन्तिम दिन भाइटीका लगाई तिहार समापन गरिन्छ । यसैबीच, नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको भाई टिकाको शुभ साइत मध्याह्न ११ बजेर ५२ मिनेटमा रहेको छ ,
इतिहास अनुसार यमराजले समेत बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भन्ने गरेको पाइन्छ ।  तिहारको प्रसङ्गसँग अर्को कथा पनि छ । प्राचीन वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे, उनी दानी राजाका रूपमा कहलिएका थिए । 
विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरिक्ष र अर्काले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रूपधारी विष्णुले पाउ राख्दा पातालमा भासिएका थिए । 
विष्णुले बलि राजाको दानशीलतादेखि प्रभावित भई वर्षमा पाँच दिन कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिई बलि राजाको पूजा गरेमा आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पनि पूजा गर्ने प्रचलन रहेको छ । 

१२ कार्तिक, २०७३ ।