समाचार

तीनधारा छात्रावासका पूर्व विद्यार्थीद्वारा शुभकामना आदान–प्रदान

काठमाडौं– विगतमा तीन धारा संस्कृत छात्रावासमा बसेर अध्ययन गरेका तथा हाल विभिन्न पेसा र व्यवसायमा संलग्न पूर्वविद्यार्थीहरूबीच बडादसैँ, तिहार, छठ र नेपाल संवत्को शुभ कामना आदान प्रदान कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भयो ।
 वि.सं. २०१५ सालमा तीनधारा संस्कृत छात्रावास प्रवेश गर्नुभएका शिवराज आचार्य कौन्डिन्यायनदेखि पछिल्लो चरणमा छात्रावास बसेका झन्डै ४५ जनाको उपस्थिति रहेको सो समारोहमा सबैले पालैपालो शुभ कामना आदान प्रदान गर्नुभएको थियो । भेलाका संयोजक हरिशरण खनालले भेला आयोजनाको उद्देश्यमाथि प्रकाश पार्दै सबै वर्ग र समुदाय सङ्गठित भइरहेको समयमा विगतमा संस्कृत छात्रावासमा रहेर हाल विभिन्न पेसा र व्यवसायमा आबद्ध पूर्वविद्यार्थी पनि सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
 ‘आज हरेक क्षेत्र, पेसा, व्यवसाय र वर्ग सङ्गठित हुनु जरुरी छ । त्यसैले विगतमा तिन धारा बस्ने हामी पूर्वविद्यार्थी पनि सङ्गठित हुनुपर्छ र साथीहरूबाटै त्यसको माग पनि भइरहेको छ,’ खनालले भन्नुभयो । सो अवसरमा बोल्दै पूर्वविद्यार्थी तथा वाल्मीकि विद्यापीठका पूर्वप्राध्यापक शिवराज आचार्यले अहिले संस्कृत शिक्षामाथि भइरहेको चौतर्फी आक्रमणप्रति चिन्ता जनाउनुभयो । उहाँले तीनधारा संस्कृत छात्रावासमा समावेशिताको नाममा अपनाइएको नयाँ व्यवस्थाले छात्रावासको अवस्था दयनीय बन्दै गएको बताउनुभयो ।
भेलामा शुभ कामना मन्तव्य दिनुहुँदै नेपाल संस्कृत विश्व विद्यालयका परीक्षा नियन्त्रक डा.धनेश्वर नेपालले यस्तो भेलाले साथीहरूबिच निकटता ल्याउनुका साथै भविष्यमा सङ्गठित भएर अघि बढ्न सजिलो हुने विचार व्यक्त गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, ‘तिन धाराको विगतको गरिमा लुप्तप्रायः भएको छ । त्यसलाई पुनर्जागरण गर्न पनि हामीले नै केही न केही गर्नुपर्ने अवस्था आएको छ ।’ भेलामा डा. जनार्दन उपाध्यायले संस्कृत छात्रावास जाँदा विगतमा जस्तो अपनत्वबोध हुन नसकिरहेको अनुभव सुनाउँदै चिन्ता व्यक्त गर्नुभयो ।
सो अवसरमा मुकुन्द लामिछाने, जीवनाथ ढकाललगायत भेलामा उपस्थित सम्पूर्ण वक्ताले विगतमा तीनधारा छात्रावासभित्रको छात्र कार्य समिति, विधान परिषद् लगायतका संस्थालाई पुनर्जीवन दिनुपर्नेमाथि जोड दिनुभयो ।
भेलाले हरिशरण खनाल, राजु सत्याल, माधव लामिछाने, निश्चल अधिकारी, अर्जुनबाबु दाहाल, नेत्र दाहाल र हरिप्रसाद पौडेल रहेको एक तदर्थ समिति गठन गरेर आगामी दुई महिनाभित्र तीन धाराका पूर्वविद्यार्थीहरूको संस्था दर्ता प्रक्रिया अघि बढाउने र त्यसका लागि विधानसमेत तयार गर्ने जिम्मेवारी प्रदान गरेको थियो ।
सो अवसरमा पूर्वविद्यार्थी गोविन्द दाहालद्वारा स्थापित खप्तड बाबा ज्याति पुरस्कारद्वारा नेपाल वेद विद्याश्रम संमाविका छात्र गणेश लम्साल सम्मानित हुनुभयो । सम्मानित लम्साललाई शिवराज आचार्यद्वारा नगद पुरस्कारका साथमा प्रशंसा पत्र प्रदान गरिएको थियो । सोही अवसरमा आगामी दिनको आर्थिक आवश्यकता पूर्तिका लागि पूर्वविद्यार्थी देवराज नेपालले नगद रु.५ हजार र गोविन्द दाहालले नगद रु. २ हजार आर्थिक सहयोग गर्नुभएको थियो । भेलाले आगामी मङ्सिर १८ गते शनिबारका दिन तीन धारा संस्कृत छात्रावासमा भेला भई बृहत् रूपमा ऐतिहासिक क्रान्ति दिवस मनाउने पनि निर्णय गरेको छ ।

१५ असोज, २०७३ ।