समाचार

चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा

काठमाडौं– चाड पर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ । चाडवाडमा हुने आपराधिक गतिविधि रोक्न काठमाडौं प्रहरीले तीन तहको विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । दशैं, तिहार र छठलाई केन्द्रित गरी सार्वजनिक गरिएको तीन तहको सुरक्षा योजनामा बर्दीका प्रहरी, शादा पोसाकका प्रहरी र प्रविधियुक्त टिमको परिचालन गरिनेछ ।  

काठमाडौं परीसर प्रमुख एसएसपी बिक्रम थापाका अनुसार काठमाडौं जिल्लामा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिनेछ । प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्वीक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गरिनेछ । एसएसपी थापाका अनुसार प्रत्येक बृत्तबाट १० देखि १५ मोटरसाइकल र भित्री गल्लीका लागि ३ देखि ५ साइकलले गस्ती गर्नेछ । त्यस्तै, काठमाडौं छिर्ने सीमा नाकाका साथै आपराधिक गतिविधि बढी हुने सम्भावित क्षेत्रमा तालिमप्राप्त कुकुरहरु पनि परिचालन गरिने जनाइएको छ । साथै प्रहरीले दशैंमा काठमाडौंबाहिर जाने यात्रुका लागि ९ स्थानमा हेल्प डेक्स स्थापना गरेको छ ।

ललितपुरका बसमा सुरक्षाकर्मी
भीडभाडको मौका छोपी पाकेट मार्नेको बिगबिगी हुन थालेपछि प्रहरीले सार्वजनिक बसमा सुरक्षा परिचालन गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुरमा चल्ने सवारीसाधनभित्र सुरक्षाकर्मी परिचालन गरेको हो ।

पैसा बोकेर मानिसहरू किनमेल गर्न निस्केको मौका छोपी पाकेटमारले समूह नै बनाएर बसभित्र पाकेटमारी गर्न थालेपछि प्रहरी परिचालन गरिएको परिसरका प्रवक्ता डीएसपी इश्वर कार्कीले बताए । प्रहरीले बसपार्क तथा बस रोक्ने स्थानमा पनि प्रहरी परिचालन गरेको छ । मानिसहरुको बढी भीडभाड हुने व्यापारिक केन्द्र, बैंक तथा गरगहना पसलमा पनि सुरक्षाकर्मी परिचालन गरेको छ । दसैंका बेला जुनसुकै ठाउँमा पनि चोरी तथा लुटपाट हुनसक्ने भएकाले सचेत रहन प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

१४ असोज, २०७३ ।