समाचार

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै

काठमाडौं– चिकित्सा क्षेत्रमा भएका विकृति अन्त्यको माग गर्दै नवौं पटक अनशन बसेका डा.गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ । अनसनरत केसीको स्वास्थ्य अवस्था नाजूक बन्दै गएपछि चिकित्सकको टोलीले विशेष निगरानी थालेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको प्राङ्गणमा पाँचौ दिनदेखि अनशन बसिरहेका डा.केसीलाई स्लाइन दिएर राखिएको रेजिडेन्ट्स डक्टर्स एसोसियसनका अध्यक्ष डा.लिजन महर्जनले बताए। उनका अनुसार डा.केसीले शरीर दुखेको र मासु समेत फर्फराएको बताएपछि विशेष निगरानी थालिएको छ।

विगतका सरकारले गरेको सहमति कार्यान्वयनसहित ४ बुँदे माग राख्दै डा. केसी अनशनमा छन्। यो पटक अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने उनको प्रमुख माग देखिएको छ। आठौं पटकसम्म विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिसहित आमसाधरणको सहयोग पाएका डा.केसीलाई भेट्न यो पटक कोही पुगेका छैनन्।

उनको समर्थनमा रेजिडेन्टस् डक्टर्स एसोसियनको सक्रियतामा अस्पतालमा कालोपट्टी बाँधेर उपचार गराइरहेका छन्। एसोसिएसनले आगामी आइतवारबादेखि कुनै पनि शैक्षिक कक्षा नलिने चेतावनी दिएको छ।

१४ असोज, २०७३ ।