समाचार

रत्नसम्बन्धि संरचनाका लागि रु. एक करोड

इलाम । सहिद रत्नकुमार वान्तवाको इलामको चमैतास्थित चित्रेमा रहेको पुरानो घरसहितको संरचना संरक्षणका लागि सरकारले रु एक करोडभन्दा बढी रकम छुट्याएको छ । मृत्यु भएको ३७ वर्षपछि सहिद घोषित हुनुभएका वान्तवाले निर्माण गर्नुभएको सुरुङ, घर, सहादत प्राप्त गरेको स्थान र समाधि संरक्षणका लागि उक्त रकम विनियोजन गरेको रत्न—बम प्रतिष्ठानले जानकारी दिएको छ । 
चित्रेमा पार्क निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिमार्फत  रु आठ लाख विनियोजन भइसकेको छ । बजेट नहुँदा वान्तवाले बनाएको सुरुङ र घर जीर्ण बन्दै गएका थिए । रत्नको स्मृतिमा उनका परिवारले प्रतिष्ठानलाई दुई रोपनी जग्गा उपलब्ध गराइसकेका छन् । थप पाँच रोपनी जग्गा प्रतिष्ठानले खरिद गरिसकेको प्रतिष्ठानका अध्यक्ष डा देवी क्षेत्री दुलालले जानकारी दिनुभयो । विनियोजित रकमबाट सुरुङ र घरको जीर्णाेद्धार, रत्न र उहाँका सहकर्मी अर्का योद्वा बम वान्तवाको पूर्णकदको सालिक राख्ने, पुस्तकालयसहितको सामुदायिक भवन निर्माण र कम्पाउन्ड बनाइने प्रतिष्ठानले जनाएको छ । रत्नका रचनाहरू समेटेर एउटा पुस्तकसमेत प्रकाशित गर्ने प्रतिष्ठानले जनाएको छ । 
गत फागुन १९ गते सरकारले रत्न वान्तवालाई सहिद घोषणा गरेको थियो । २००८ साल चैत २७ गते जन्मिएका रत्न वान्तवाको २०३५ साल चैत २७ गतेकै दिन इलाममा हत्या भएको थियो ।