समाचार

पूर्वगृहमन्त्री खोज्न बंगलादेशबाट गोताखोर ल्याउने तयारी

काठमाडौं– त्रिशुली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजी गर्न सरकारले बंगलादेशबाट गोताखोर ल्याउने तयारी गरेको छ। पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जीप दुर्घटनास्थल पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले गोताखोरहरु ल्याउन पहल भैरहेको जनाए। मन्त्री लेखकले पूर्व गृहमन्त्रीको अवस्था पत्ता लगाउन सरकारले सबै स्रोत र शक्ति परिचालन गरिएको बताए।

उनले सबै यसका लागि सबै निकायलाई निर्देशन दिइसकेको र आवश्यक सामाग्री पनि ल्याइने तयारी भैरहेको जानकारी दिए। मन्त्री लेखकले घटनास्थलमा परिवारका सदस्य तथा आफन्तलाई पनि भेटेका छन्। भेटमा मन्त्रीले खोजीकार्यमा कुनै कसर बाँकी नराखिने भन्दै आफन्तलाई धैर्यधारण गर्न आग्रह गरेका छन्।

घटना स्थलमा पुर्वगृहमन्त्री घिमिरेको मोबाइल सोमबार दिउँसो भेटिएको छ। आइतबार रातभर खोजी गरिएपनि जीप र घिमिरे परिवारका सदस्य फेला परेका छैनन्। घिमिरेको खोजीका लागि २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीहरुले त्रिशुली नदीका विभिन्न भागमा खोजी कार्य जारी राखेका छन्। रामनगर, मुग्लिन, पुल साइड, कालीखोला साइड, सेती त्रिशुली दोभान, कविलास, जुगेडी, रामनगर, देवघाटलगायतका स्थानमा ब्लक बनाएर खोजी कार्य भइरहेको चितवन प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।

मुग्लिनबाट काठमाडौं तर्फ आउँदै गरेको जीप आइतबार साँझ पाँच बजे घोप्टेभीरबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो। दुर्घटनामा घिमिरेकी आमा ८० वर्षीय चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको निधन भएको थियो भने पूर्वगृहमन्त्री घिमिरे र उनका दुई भाइ हराइरहेका छन्। जीपचालक विष्णु राई भने दुर्घटनामा बाँच्न सफल भएका छन्।