समाचार

दुर्घटना अपडेटः मृतक तीन जनाको पहिचान, तीन जनाको खोजी जारी

चितवन, असोज । पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार त्रिशुली नदीमा खस्दा ज्यान गुमाउने तीन जनाको पहिचान भएको छ भने वेपत्ता तीन जनाको खोजी जारी छ । मुग्लिङ प्रहरीले उनी चढेको कार पौनै ५ बजे चितवको दारेचोक, घोप्टेभिरबाट त्रिशुलीमा खसेको  जानकारी दिएको हो। मृत्यु हुनेहरुमा घिमिरेकी आमा चैतन्यकुमारी,  उनका अंगरक्षक प्रहरी सई रामचन्द्र कार्की र नारायणप्रसाद काफ्लेको पहिचान भएको छ। बेपत्ता भइरहेकाहरुमा मोहन, प्रकाश र मावध घिमिरेको खोजी जारी राखिएको छ । उनीहरुको खोजीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्किने क्रममा कार त्रिशुलीमा खसेको हो। बा ९ च १५३१ नम्बरको कार चितवनको दारेचोकस्थित घोप्टेभीरबाट त्रिशुलीमा खसेको थियो।

चितवन सिडिओ विनोदप्रकाश सिंहका अनुसार गाडी घिमिरे आफैँले चलाएका थिए। दुर्घटनमा जीपबाट उछिट्टिर बाँच्न सफल चालकको उपचार भइरहेको छ । पूर्वमन्त्री घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किने बेला यो दुर्घटना भएको हो । 

कसरी भयो दुर्घटना, यसो भन्छन् हाम फालेर बाँचेका चालक ?

त्रिशुलीमा खसेको जीपबाट उछिट्टिएर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले आफूले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेको बताए । दुर्घटना हुनु अगाडिको अवस्था उनले यसरी सम्झिएः मुक्तिनाथ धामबाट फर्किदा जीप मैले चलाएको थिए । दमौली पुगेर केहीबेर रोकिएपछि उहाँ (घिमिरे)ले मलाई ‘तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनु’ भन्नुभएको थियो तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो । केबलकार चढ्ने ठाउँ आउन एक–दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिट्टिएर गयो केही पनि थाहा पाइँन । 

गाडीमा को–को थिए ?
चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरका अनुसार जीपमा सात जना सवार थिए । ती यसप्रकार छन् । पूर्वमन्त्री माधवप्रसाद घिमिरे (वेपत्ता)
 आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे (मृत्यु) 
अंगरक्षक रामचन्द्र कार्की (मृत्यु)
भान्जा नारायणप्रसाद काफ्ले (मृत्यु)
प्रकाश घिमिरे (वेपत्ता) 
मोहन घिमिरे (वेपत्ता)
चालक विष्णु राई (घाइते अस्पतालमा उपचाररत)

विसं २०६६ साउन २२ गतेदेखि २०६९ साउन २१ गतेसम्म मुख्यसचिव भएका घिमिरे खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा गृह तथा परराष्ट्र मन्त्री थिए ।