समाचार

जिल्ला अदालतमा ‘टाइम कार्ड’को व्यवस्था

म्याग्दी– जिल्ला अदालत म्याग्दीले सेवाग्राहीको सुविधा र सहजताका लागि ‘टाइम कार्ड’को व्यवस्था गरेको छ। मुद्दा फैसला नहुँदासम्म कुन दिन के हुन्छ ? भन्ने जानकारी दिनका लागि वादी र प्रतिवादीलाई टाइम कार्ड वितरण  थालिएको जिल्ला न्यायाधीश रामप्रसाद शर्माले जानकारी दिए।

मुद्दा अनिश्चित र ढिलाइ हुन्छ भन्ने सेवाग्राहीको धारणामा परिवर्तन ल्याउँदै उनीहरुको सहजता र सुविधाका लागि गत साउनदेखि मुद्दा दर्ता भएकै दिन समय तालिका उपलब्ध गराउन थालिएको हो। एसएमएसबाट मुद्दा कारबाहीको अवस्थाको विषयमा जानकारी लिने व्यवस्था मिलाएको अदालतले संवेदनशील विषयका मुद्दाको छिटो फैसला गर्न निरन्तर सुनुवाइ गर्ने गरेको छ।

यसैबीच अदालतबाट प्रवाह हुने सेवा र न्यायिक प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले शुक्रबार बेनीमा नागरिक समाज र पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा जिल्ला न्यायाधीश शर्माले न्यायमा आम नागरिकको पहुँच बढाउन राज्यका सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए।