समाचार

अनुदान रकम लिँदा सचेत् बन्नोस्, कारबाही भोग्नुपर्ला

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले झुटो विवरण पेश गरी अनुदान रकम लिनेलाई कारबाही गर्ने जनाएको छ । अनुदान रकम वितरणका क्रममा मापदण्डमा नपरेका व्यक्तिले पनि विभिन्न जिल्लामा अनुदान लिएको गुनासो आएपछि प्राधिकरणले यसतर्फ सचेत हुन आग्रह गर्दै विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बुधबार विज्ञप्ति जारी गरी झुटो विवरण पेश गरी मापदण्ड नपुगेकाले अनुदान रकम लिएको प्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। मापदण्डमा नपरेका व्यक्तिले पनि विभिन्न जिल्लामा अनुदान सम्झौता गरी आफूले पेश गरेको विवरण झुटो ठहरे कारबाहीका लागि मञ्जुर गरी सम्झौता गर्ने गरेकोमा सम्झौताको शर्तलाई उल्लघंन गरेको जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ।

गलत विवरण पेश गरी अनुदान लिएमा, उजुरी परेमा र छानविनपछि दोषी देखिएमा सरकारले प्रचलित कानुन बमोजिम कारवाही गरी सरकारी बाँकी सरह असूल उपर गर्ने प्राधिकरणले जनाएको छ। पहिलो किस्ता रकम दुरुपयोग गरेको पाइएमा दोस्रो किस्तामा सहभागी नगराउने कानुनी प्रावधान रहेको समेत प्राधिकरणले जानकारी गराएको छ।

गलत विवरण पेश गरी अनुदान सम्झौता गरेकालाई रकम नलिन र लिइसकेको भएमा तत्काल फिर्ता गर्न प्राधिकरणले सम्बन्धित सबैलाई अनुरोध गरेको छ। प्राधिकरणले विज्ञप्तीमार्फत् भनेकोछ, भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका, एकै परिवारको सदस्यको नाममा अर्को स्थानमा घर नभएका र अनुदान सम्झौता गरी अनुदान प्राप्त गर्ने सूचीमा परेकाले मात्र अनुदान सहयोग रकम प्राप्त गर्न सक्नेछन्।

भूकम्प अतिप्रभावित ११ जिल्लामा भूकम्प पीडित जनतासँग अनुदान सम्झौता भई घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता ५० हजार रुपैयाँ बैंकबाट वितरण गर्ने क्रम जारी रहेको छ। मंगलबार असोज ४ गतेसम्म ४ लाख ५० हजार ३२ घरधनीसँग अनुदान सम्झौता भई बैंक खातामार्फत रकम भुक्तानी गर्ने क्रम जारी रहेको पनि प्राधिकरणले जनाएको छ।