समाचार

काठमाडौंका विद्यालयमा बम आतंक, तीन जना पक्राउ

काठमाडौं– काठमाडौंका विभिन्न निजी स्कूलमा मंगलबार विहानै बम फेला परेका छन् । जोरपाटीका दुई वटा स्कूलमा बम विस्फोट हुँदा भौतिक सामाग्री क्षति भए पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।  काठमाडौंको जोरपाटी, बौद्ध, डल्लु, ललितपुरको सानेपा लगायतका क्षेत्रमा शंकास्पद बस्तु फेला परेका हुन् । 
शंकास्पद बस्तुसँगै अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिष्ट फोर्स नेपालको पर्चा भेटिएको छ । उनीहरुले सरकारी तथा निजी विद्यालयमा समानता हुनुपर्ने, अध्ययन, पाठ्यक्रम लगायतमा एकरुपता हुनुपर्नेलगायतका विभिन्न ९ बुँदे माग राखेका छन् ।
 
काठमाडौंको जोरपाटी क्षेत्रमा मात्रै ८ वटा स्कूलमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।  जोरपाटीको आकाशद्वीप स्कूलमा शंकास्पद बस्तु पड्किँदा विद्यालयको भौतिक संरचनामा क्षति पुगेको हो भने मनकामना माविमा शंकास्पद बस्तु पड्किदा स्कूल बसमा क्षेति पुगको जनाइएको छ । 

त्यस्तै अन्य क्षेत्रमा राखिएका विस्फोटक पदार्थ नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । यसैबीच, बम विस्फोट गराउने समुहको  खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।  शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ ।  उनीहरुलाई जोरपाटी दक्षिणढोकाबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख विक्रम सिंह थापाले बताए।  योङ कम्युनिस्ट फोर्स नामक उक्त समूह शान्ति प्रक्रियापछि पूर्वजनमुक्ति सेनाका लडाकुसहितको टोलीले बनेको हो।

बम राखेर विद्यालयहरु सञ्चालकहरुलाई आतंकित पार्ने उद्येश्यका पछाडि चन्दा उठाउने नियत रहेको निजी विद्यालय सञ्चालकहरुको दाबी छ। निजी विद्यालय प्याव्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भने, ‘जसरी आतंक फैलाइयो, यो निन्दनीय छ। यो सबै पैसा उठाउनका लागि गरिएको हो।’ निजी विद्यालयका संघसंस्थाहरु आजै आकस्मिक बैठक बसेर यसबारे सरकारको ध्यानाकर्षण गराउने तयारीमा छन्।

४ असोज, २०७३ ।