समाचार

उच्चस्तरीय तालिमका लागि एसएसपी खनाल अमेरिका जाँदै

काठमाडौं– उपत्यकालाई अपराधमुक्त बनाउन लागिपरेका एसएसपी सवेन्द्र खनाल अमेरिकी सरकारले दिने उच्चस्तरीय तालिमका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । एसएसपी खनाल अमेरिकामा करीब ६ हप्तासम्म चल्ने एड्भान्स सेक्युरिटी कोअप्रेसनको कार्स नामक तालिमका लागि त्यहाँ जान लागेका हुन् । 
यो तालिमका लागि उनलाई अमेरिकी सरकारले छनोट गरेको हो । यसअघि खनाल युएन हेडक्वार्टर न्यूयोर्कको ग्लोबल कम्पिटेन्सीको आधारमा २ वर्ष सेवा गरेका थिए भने इटालीको रोममा भएको विश्वका ३७ देशका प्रहरी अधिकृतहरु सम्मिलित तालिममा सवोत्कृष्ट घोषित भएका थिए । 
करिब १४ महिना अगाडि एसएसपी खनाल अपराध महाशाखा प्रमुख भएर आएका थिए । यो अवधिमा उनले फुटबलको म्याच फिक्सिङ पत्ता लगाउनेदेखि डन अप्रेसन, कन्सलटेन्सी र मेनपावरको ठगी, पेट्रोलपम्पमा चिप्स राखेर हुँदै आएको लुट जस्ता सामाजिक अपराधमाथि धावा बोल्दै आपराधिक गिरोहलाई पक्राउ गर्न सफल भएका छन् ।