समाचार

डा. केसीका तीन वटा माग पूरा गर्न सरकार तयार

काठमाडौं– डा. गोबिन्द केसीले  आफूसँग भएका सहमति कार्यान्वयन गर्न एक हप्ताको समय दिएका छन् । सरकारले एक हप्ता भित्रमा माग पूरा नगरे अनशनमा बस्ने चेतावनी दिएका छन् । यसअघि उहाँले असोज दुई गते अर्थात आइतबारसम्ममा आफ्ना माग पूरा नभए  सोमबारदेखि आमरण अनसन बस्ने चेतावनी दिनुभएका हुन् ।

सरकारले आफ्ना चार मध्ये तीन वटा माग पूरा गर्ने प्रक्रिया अघि बढाएकाले अनसन एकहप्ताका लागि सारेको डाक्टर केसीले बताएका छन् । स्वास्थ्य मन्त्री गगनकुमार थापा र शिक्षामन्त्री धनीराम पौडेलले संयुक्त पत्र पठाउँदै केसीका माग पूरा गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग राख्दै केसीले यसअघि ८ पटक आमरण अनसन बसिसक्नु भएको छ । आठौं पटकको अनशनको १६ औं दिन गएको साउन १० गते सरकार र केसीबीच चिकित्सा शिक्षा विधेयक अघि बढाउने, मनमोहन मेमोरियल अस्पताल वीर अस्तालका लागि किन्ने, तत्काल आइओएमको डिन नियुक्त गर्ने, अख्तियार प्रमुख लोकमान कार्की विरुद्धको महाअभियोगको प्रस्ताव संसदमा लैजाने सम्झौता भएको थियो । संयुक्त पत्रमा कार्कीविरुद्धको महाअभियोग बाहेक अरु बुँदा कार्यान्यवनको चरणमा रहेको उल्लेख छ ।